बिजौरी। नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको ६९औँ वार्षिकोत्सव सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादव प्रकाश लामिछानेको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. भीम खतिवडा, नेसंवि सेवा आयोगका अध्यक्ष श्रीधर मजगैयाँ, सेवा आयोगका सदस्य प्रा. मुरली मोहन बाँस्तोला, परीक्षा नियन्त्रक सहप्रा डा. बाबुराम आचार्य, सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक जर्मन चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै उप–कुलपति लामिछानेले विद्यापीठ तथा विश्वविद्यालयका समस्याहरुप्रति आफूहरु गम्भीर रुपाले लागिरहेको र बिस्तारै कामले नतिजा दिन लागेको कुरा बताएका थिए । उनले सबैको कार्यबाट मात्र विश्वविद्यालयका समस्याहरु समाधान गर्न सकिन्छ भन्नेमा जोड दिएका थिए ।
कार्यक्रमका अर्का वक्ता सेवा आयोगका अध्यक्ष श्रीधर मजगैँयाले शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकासका लागि सेवा आयोगले रोकिएका कार्यहरुलाई तीव्ररुपमा अगाडि बढाइरहेकाले पदोन्नति लगायतका विषयमा उठेका चिन्ताहरु बिस्तारै निर्धारण हुँदै जाने उल्लेख गरे ।
कार्यक्रममा नेसंविका शिक्षाध्यक्ष प्रा. डा. भीम खतिवडाले विश्वविद्यालयका भौतिक तथा शैक्षिक समस्याप्रति सबैले उत्तिकै सचेत भएर लाग्ने हो भने विश्वविद्यालयले चाँडै नै उन्नति गर्ने र त्यसको भागिदार समाज हुने उल्लेख गरे । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले विश्वविद्यालयका समस्याहरुप्रति पदाधिकारीहरुलाई सचेत गराएका थिए ।
यसै वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर विद्यापीठले आफ्ना विद्यापीठमा रहेका उत्कृष्ट प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो । यसरी सम्मान प्राप्त गर्ने प्राध्यापक हरुमा सहप्राध्यापकहरुमा गिरीशचन्द्र तिवारी र उप–प्राध्यापक दुर्गाबहादुर के.सी. रहनुभएको थियो । सम्मानित हुने कर्मचारीहरुमा असिस्टेन्ट सन्तोष कुमार पोखरेल र ल्याब असिस्टेन्ट प्रकाश पोख्रेल रहनुभएको थियो ।
विद्यापीठको ६८ औं वार्षिकोत्सव सम्पन्न गर्न गतसाल कोरोना महामारीका कारण असम्भव भएपछि यसवर्ष वार्षिकोत्सवको आयोजना गरिएको थियो । सो अवसरमा पुस १ गतेदेखि विद्यापीठमा विभिन्न खेलकुद तथा अन्य साहित्यिक कार्यक्रमको आयोजना गरिएको थियो ।
साथै कार्यक्रममा विभिन्न किसिमका शैक्षिक तथा खेलकुद प्रतियोगितामा पुरस्कृत हुने शिक्षक कर्मचारी तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विशिष्ट पाहुनासहित करिब २०० जनाको उपस्थिति रहेको थियो ।
शिक्षक कर्मचारी आवास भवनको उद्घाटन
विद्यापीठको वार्षिकोत्सवको अवसर पारेर विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले जनताका विद्यापीठ बिजौरी, दाङको शिक्षक कर्मचारी आवास भवनको उद्घाटन गरेका छन् । आर्थिक अनुदानमा निर्मित दुईतले उक्त आवास भवन केही समयअगाडि नै निर्माण सम्पन्न भए पनि समुद्घाटन हुन सकेको थिएन ।
विद्यापीठको ६९औँ वार्षिकोत्सवको अवसर पारेर उपकुलपतिले ताम्र पत्रको अनावरण गरेर उक्त भवनको समुद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. भीम खतिवडा लगायतका विशिष्ट पाहुनाहरुको उपस्थिति रहेको थियो ।