बेलझुण्डी खानेपानी सहलगानी आयोजनाको काम सुरु

बिजौरी । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सरकारको सहलगानी कार्यक्रम अन्तर्गत आयोजनाको काम शुरु गरेको छ । २०८० भदौ १५ गतेसम्म आयोजनाको सम्पूर्ण काम सक्ने मृतसञ्जिवनी स्वामी नारायण सगुन जेभीले जनाएको छ । निर्माण कम्पनीले पहिलो वर्षमै सम्पूर्ण क्षेत्रमा पाइप लाइन विस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखेर एकै पटक चार ठाउँबाट काम शुरु गरेको संस्थाका अध्यक्ष प्रदीप गौतमले जानकारी दिए ।

तुलसीपुर वडा नं. १६, १७, १८ र १९ वडाभित्र रहेका खानेपानी वितरण क्षेत्रमा एक लाख ९७ हजार ४ सय ८३ मिटर नयाँ पाइपलाइन विस्तार गर्न थालिएको हो । निर्माण कम्पनीले पाइप विस्तार, इन्टेक, ट्याङ्की निर्माण, कार्यालय भवन निर्माणको काम सम्पन्न गर्नेछ । संस्थाका अध्यक्ष प्रदीप गौतमका आनुसर यो ४० वर्षअघिको आयोजना हो, मुहानदेखि इन्टेकसम्म पानी ल्याउन सम्पूर्ण पाइपमा रुन जम्ने समस्या रहेको छ । आयोजना कार्यान्वयनका लागि विगतमा निर्माण गरिएका २० प्रतिशत संरचना पुनः प्रयोगमा ल्याउन सकिने प्राविधिक रिपोर्ट रहेको अध्यक्ष गौतमले बताए । सहलगानीअन्तर्गत सरकारको ७० प्रतिशत र उपभोक्ताहरुको ३० प्रतिशत लगानीको कुल ३० करोड ७३ लाखको बजेटमा आयोजना सम्पन्न हुनेछ । सम्पन्न गर्न उपभोक्ताहरुबाट पाँच हजार उठाउन थालिएको छ ।

आयोजना सम्पन्न भएपछि संस्थाको कार्यक्षेत्रभित्रका वडाहरुको सम्पूर्ण ठाउँमा पानी वितरण लाइन पठाउन सकिनेछ । हाल संस्थाले १२ सय धारा वितरण गरेको छ भने आयोजना सम्पन्न भएपछि थप दुई हजार धारा वितरण गर्न सकिने अध्यक्ष गौतमले बताए । संस्थाले हाल दाङ जिल्लाको तुलसीपुर(१९ को डाँडीकाट मुहान, रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकाको वडा नम्बर ६ को बगालेपानी, रिप्ले मुहानको पानीसहित यो वर्षदेखि रुन्टीगढी–८ को गर्वखोलाको झाँक्रीढुंगा मुहानको पानी समेत थप गर्न थालिएको अध्यक्ष गौतमले जानकारी दिए ।

बेलझुण्डी खानेपानी संस्थाका अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष भुप बहादुर केसीले बैचपुर चोकबाट, १७ का वडाध्यक्ष थलराज पुरीले जिनुवा गाउँबाट, १८ का वडाध्यक्ष माधव वलीले बेलझुण्डी रंगशाला चौकबाट र १९ का वडाध्यक्ष राम बहादुर योगीले बाँसगढीबाट पाइप लाइनर्का एक साथ उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस