
तुलसीपुर । रोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मुल नारासहित तुलसीपुर च्याम्वर अफ कमर्शको आयोजनामा आउदो पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुर महोत्सव—२०७८ हुँदैछ ।

यसबीचमा आयोजकले स्थानीय सरकारबाट सिफारीस, प्रशासनबाट स्वीकृति सहित मन्च निर्माण लगायत स्टल बुकिङको काम समेत करिब करिब अन्तिम चरणमा पुगेको बताइरहँदा महोत्सवको विरोध पनि यथावत रहेको छ । महोत्सव आयोजकले अन्तिम तयारीबारे बताइरहँदा तुलसीपुरका फेन्सी व्यवसायीहरुले मंगलबार बजार बन्द गरे ।
अधिकांश फेन्सी पसल लगायत अन्य व्यापार व्यवसाय समेत महोत्सवकै विरोधमा बन्द गरिएका छन् । यो अवस्थाले आम जिल्लाबासीहरुमा कस्तो होला महोत्सव भन्ने कौतुहलता व्यक्त हुन थालेको छ ।
व्यानर राख्न मात्रै बाँकी
तुलसीपुर महोत्सव—२०७८को तयारी अन्तर्गत अब महोत्सवको मुल व्यानर राख्न मात्रै बाँकी रहेको बताएको छ । मंगलबार आयोजकले महोत्सवस्थल हात्तिखौवामै पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीवारे जानकारी गराएको हो ।

‘महोत्सवका सन्दर्भमा सबै तयारी पुरा भैसकेको छ, अब मुल व्यानर राख्न मात्रै बाँकी रहेको जानकारी गराउँदछु’, पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक तथा तुलसीपुर च्याम्वर अफ कमर्शका अध्यक्ष टोप वहादुर घर्तीले भने । उनले महोत्सवमा स्वास्थ्य उपचार व्यवस्थापन, कलाकारहरुको आमन्त्रण, प्रमुख अतिथिलाई निम्तो, सुरक्षा व्यावस्थापन, अतिथिहरुलाई आवाशको व्यवस्थापन, स्टल व्यवस्थापन र बुकिङ, वाल उद्यान निर्माण लगायत सबै कामहरु सम्पन्न भैसकेको पनि अध्यक्ष घर्तीले बताएका छन् ।
महोत्सवलाई भव्य र सभ्य बनाउन आयोजक समितिले सबै सन्चारमाध्यमहरुलाई आग्रह समेत गरेको छ । तुलसीपुरका सयौं व्यापारीहरुको संस्था तुलसीपुर च्याम्वर अफ कमर्शको अझैसम्म पनि आफ्नै भवन नभएकाले भवन निर्माणको सहयोगार्थ मेला आयोजना गरिएको आयोजकले बताएको छ । महोत्सवमा राष्ट्रियसभाका अध्यक्ष प्रमुख अतिथि रहने र विशिष्ट अतिथिका रुपमा नेपाल च्याम्वर अफ कमर्शका केन्द्रीय उपाध्यक्ष आउने निधो भैसकेको पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

त्यसैगरी मेलाको उद्घाटन समारोहलाई रोचक र भव्य बनाउनका लागि पुरन्धारादेखि घोराहीसम्मका विभिन्न जातीय संस्कृति झल्किने झाँकिहरुको व्यवस्थापन भइसकेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा स्टल व्यवस्थापन समितिले महोत्सव स्थलमा ३ सय २५ वटा स्टल व्यावस्थापन गरिएको जानकारी दिएको छ । त्यसमा २५ वटा स्टल कृषिका रहेका छन् । ती स्टलहरु निशुल्क रुपमा उपलव्ध हुने छन् ।

त्यसैगरी विभिन्न जातजाती र संस्कृतिका खानाका परीकारहरु रहने गरी फुड फेस्टीवल पनि आयोजना हुने छ । यसका लागि कम्तिमा २० वटा स्टलहरु छुट्टयाइएको बताइयो । निर्माण भएका स्टलहरु मध्ये २ वटा स्टल मात्र बुकिङ हुन बाँकी रहेका छन् ।
त्यसैगरी महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको वेजोड प्रस्तुति रहने महोत्सव आयोजक सांस्कृतिक उपसमितिका संयोजक प्रेमविवश घर्तीले जानकारी दिए । महोत्सवको उद्घाटनकै दिनदेखि समापनका दिनसम्मै कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सव अवधिभर हास्य कलाकार, गायक, नर्तकी, मोडेल, एउटै खुट्टाले नृत्य प्रस्तुत गर्ने कलाकार तथा दाङकै स्थानीय कलाकारहरुको समेत उत्साहजनक सहभागिता हुने उपसमिति संयोजक घर्तीले बताएका छन् । महोत्सवलाई आकर्षक एवं सांस्कृतिक बनाउन मयुर नाचलाई विशेष महत्व दिइएको पनि आयोजकले बताएको छ । यो नृत्य उद्घाटनकै दिन प्रस्तुत गरिने छ ।
त्यसैगरी विश्वव्याधिका रुपमा फैलिएको कोरोना संक्रमणलाई समेत मध्यनजर गर्दै महोत्सव स्थलमै स्वास्थ्य शिविरको पनि व्यवस्थापन गरिने स्वास्थ्य उपसमितिले बताएको छ । स्वास्थ्य शिविरमा दीर्घायु मेडिकल, पाल्पाली मेडिको फर्मा, तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखाका स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहने छ । महोत्सवस्थलमा प्रवेश गर्न अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गरिने आयोजकले दावी गरेको छ।