
बेलझुण्डी । बेलझुण्डीमा निर्माणाधिन सेन्थेटिक ट्रयाक सहितको आधुनिक रंगशालामा पहिलो पटक संघीय खेलकुद मन्त्रीले स्थलगत अवलोकन गरे । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही प्रतियोगिता यही सम्पन्न भए पनि खेलकुद मन्त्री आउन भ्याएका थिएनन् ।
करीव दुई बर्ष अघि निर्माण सम्पन्न हुनुपर्ने बेलझुण्डी रंगशालाको निर्माण तोकिएको मापदण्डमा पुरा गरेर अझै पनि हस्तान्तरण हुन नसके पनि रंगशालाको सेन्थेटिक ट्रयाकमा संघीय खेलकुद मन्त्री महेश्वरजंघ गतराज पहिलो पटक अवलोकन गर्न आए । अब रंगशालाको चाँडै हस्तान्तरण हुने पनि उनले विश्वास व्यक्त गरे । मुलुकमा खेलकुद गतिविधि ठप्प प्रायः भैरहँदा अनुगमनमा आएका मन्त्री गतराजले दाङलाई खेलकुदका धनी भन्दा पनि जग्गाको धनी भनेर फर्के ।

निर्माणाधिन रंगशाला अझै पुरा भइनसकेको अवस्थामा केही नबोलेका मन्त्री गतराजले बेलझुण्डी रंगशालामा खेलकुद गुरुहरु, केही राजनीतिक दलका नेता कार्यकर्ता र केही पत्रकारहरुमाझ भने, ‘यो रंगशालाको पुरा निर्माण भएको नठान्नुहोला, अझै धेरै भौतिक निर्माणका काम बाँकी छन् । यति धेरै जमिन भएको यो रंगशालामा चारैतिर स्तरीय प्याराफिट बनाएर ५० हजार दर्शकले खेल अवलोकन गर्ने गरी भौतिक निर्माण गर्न सरकारले थप योजना बनाउने पनि उनको अभिव्यक्ति थियो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामाको उद्घाटननै यही रंगशालामा हुने भनिए पनि राष्ट्रिय खेलकुद परिषदको षड्यन्त्रका कारण मुस्कीलले दुई वटा राष्ट्रिय प्रतियोगिता मात्र यहाँ हुन पाएका थिए । त्यसपछि रंगशालाको भौतिक निर्माणको कामनै सकिन निकै ढिलासुस्ती भयो । रंगशाला निर्माणको काम जसोतसो सकिए पनि यहां कुनै पनि खालका खेल गतिविधिहरु सञ्चालन हुन सकेका छैनन् ।
संघीय माताहतमा रहेको यो रंगशालामा खेलकुद गतिविधिलाई बढाउनका लागि खेलकुद मन्त्रालयले अहिले सम्म कुनै पनि कार्यक्रम ल्याउन नसकेकोमा खेलप्रेमीहरुको गुनासो रहेको छ । दर्जन भन्दा बढी जागिरे प्रशिक्षकहरु बर्षौदेखि प्रशिक्षणविहीन अवस्थामा रहेका छन् ।

‘हामीले त खेलकुद सम्बन्धी नीति निर्माण गर्ने, राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक भौतिक निर्माण गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने मात्र हो, तर स्थानीय तहमा खेलकुद गतिविधि बढाउने र यस्ता भौतिक संरचनाहरुको सदुपयोग गर्ने त स्थानीय सरकार र प्रदेश सरकारको हो’—खेलकुद मन्त्री गतराजले पत्रकारहरुको जिज्ञासामा भने । हरेक क्षेत्रमा खेलकुदको आकर्षण बढाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने उनको अभिव्यक्ति थियो ।
मुलुक अहिले नबौं राष्ट्रिय खेलकुद
प्रतियोगिताको तयारीमा रहेको बताउँदै पोखरामा यो प्रतियोगिताको आयोजना गर्न खेलकुद मन्त्रालय लागिपरेको पनि उनको अभिव्यक्ति थियो । यसका लागि खेलकुद परिषदको सदस्य सचिवको नियुक्तिको काम पनि भैसकेको मन्त्री गतराजले बताए ।
‘अब चाँडै क्याविनेट बस्दै छ, हामी चाँडैनै यी खेलकुदका पूर्वाधारहरुलाई खुला गरी खेलकुद गतिविधि सञ्चालनको लागि निर्णय गर्ने छौं’, मन्त्री गतराजले भने, स्टेडियन खुला गर्ने सरकारले निर्णय गरेसंगै हरेक स्टेडियमहरुमा खेलकुद गतिविधिहरु नियमित रुपमा सन्चालनमा आउने छन् । प्रशिक्षणहरु पनि नियमित रुपमा सञ्चालन हुने छन् । ‘यो रंगशाला पनि गजडीहरुको अखडा होइन, खेलकुद प्रेमीहरुको गन्तव्य बन्ने छ, यसका लागि सरकारले खेलकुद योजना निर्माण गर्दे छ’, मन्त्रीले भने ।
के कार्यक्रम थियो ?
खेलकुद मन्त्री खासमा रंगशालामा कुनै विशेष कार्यक्रम ल्याएर आएका थिएनन् । नेकपा माओवादी केन्द्रको पार्टीको कार्यक्रममा आएका बेला मन्त्री गतराजले विभागीय संरचनाको स्थलगत अनुगमन गर्न यहाँ आएको जिल्ला खेलकुद परिषद दाङले जनाएको छ । मन्त्री गतराजले आइतबार तुलसीपुर, बेलझुण्डी लगायतका स्थानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा निर्माण भएका भौतिक संरचनाहरुको स्थलगत अनुगमन गरेका हुन् ।
मन्त्री गतराज बेलझुण्डीमा उपस्थित भइरहँदा जिल्ला खेलकुद परिषदका कर्मचारी तथा प्रशिक्षकहरुले स्वागत गर्दै बेलझुण्डी रंगशालाको भौतिक निर्माणको अवस्था बारे जानकारी गराएका थिए ।
सो अवसरमा खेलकुद मन्त्री गतराजले खेलकुद विकास समितिको स्वामित्वमा दाङमा प्रशस्तै जग्गा भएकाले यसको संरक्षणमा ध्यानाकर्षण समेत गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी समेतको उपस्थिति थियो । ‘हामीलाई आगामि राष्ट्रिय खेलकुद प्रतियोगितामा अझै धेरै भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने छ, जहाँ जमिन छ, त्यही निर्माण गर्ने हो, त्यसैले पनि दाङमा अझै पनि धेरै खेलकुद संरचनाहरु बन्ने सम्भावना छ’—कर्मचारीहरुमार्फत मन्त्रीले भने ।
सरकारको नीति एक प्रदेश एक अन्तर्राष्ट्रिय स्तरको खेल संरचना भएकाले पनि लुम्बिनी प्रदेशको राजधानी रहेको दाङमा थप भौतिक निर्माणका लागि आफु सकारात्मक रहेको पनि उनको अभिव्यक्ति थियो । सो अवसरमा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीले निर्माणाधिन रंगशाला र कार्यालयका गतिविधिका विषयमा जानकारी गराएकी थिइन् ।