वडाका ८५ जना वृद्धवृद्धालाई न्यानो कपडा र पौष्टिक आहार वितरण

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.३ ले वडाका ८५ जना जेष्ठ नागरिकहरूलाई स्विटर, टोपी र च्येवन प्रास प्रदान गरी सम्मान गरिएको हो । वडा कार्यालय परिसरमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई सम्मान तथा पौष्टिक आहार प्रदान गरेको छ ।

शुक्रबार वडा कार्यालय खरेन्द्रपुरमा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले ८० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई खादा ओढाई उक्त सामग्रीहरू प्रदान गरी सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले बृद्धबृद्धाहरूलाई सानो बच्चाको जस्तै परिवारको माया, ममता र स्याहारसुसारको आवश्यकता रहेको बताए । बृद्ध अवस्थामा शारीरिक, मानसिक रूपमा अशक्त र कमजोर हुँदै जाने भएकाले माया, स्नेहसहित बृद्धहरूलाई हेरचाहका लागि परिवारले पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने अधिकारीले बताए ।

बृद्धहरूले पारिवारिक माया पाउनु नै सबैभन्दा ठुलो सम्मान भएको बताउँदै आफ्नो सन्तानको सरह नै व्यवहार गरी बृद्ध बुवा आमालाई सम्मान र सहयोग गर्न आग्रह समेत गरे ।

वडा अध्यक्ष टेकलाल सापकोटाले बृद्ध बुवा, आमाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै जेष्ठ नागरिकहरूको हौसला बढाउन सम्मान गरिएको बताए । यसरी बृद्धहरूलाई सधैँ आदर, सम्मान गर्नु हामी सबैको कर्तव्य भएको उनले बताए । अध्यक्ष सापकोटाले सम्मानित हुन छुट्नु भएका वृद्धहरुलाइ घरमै पुगी सो सामग्री प्रदान गरिने बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस