१२–१८ वर्ष बालवालिकालाई पुस ४ गतेदेखि कोरोना खोप

काठमाडौं । पुस ४ गतेदेखि १२ देखि १८ वर्षका बालबालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइने छ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने उनले बताए ।

यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइने उनले बताए ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करिब १८ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने लक्ष्य रहेको छ ।

यसअघि फाइजर खोपका लागि तोकिएका २४ वटा विशेषज्ञ अस्पताल रहेका जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने दाहालले बताए ।

यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, सिन्धुली, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराका गरी २४ वटा विशेषज्ञ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिइएको थियो ।

फाइजर खोपको तुलनामा मोडेर्ना खोप दुर्गम जिल्लाहरुमा लैजान सहज हुने भएकोले पनि ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिने निर्णयमा पुगेको दाहालले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस