रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ५ लाई बुधबार एक कार्यक्रमका बीच बालश्रम मुक्त वडा घोषणा गरिएको छ । वडा नं. ५ का वडा अध्यक्ष कृष्ण बहादुर केसीको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष शान्ता कुमार वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले बालश्रम अन्त्यका लागि सबैले आआफ्नो तर्फबाट पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । गाउँपालिका उपाध्यक्ष सावित्रा कुमारी बुढा घर्तीले सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतना केन्द्र हुरेक रोल्पा लगायत सबै सरोकारवालाहरुको प्रयासले गर्दा आफूहरूले बालश्रममुक्त वडा बनाउन सफल भएको धारणा व्यक्त गरेकी थिइन् ।
त्यस्तै प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष शान्ता कुमार वलीले गाउँपालिकाले बालबालिकाका लागि ठूलो लगानी र प्रयन्त गरेको बताएका थिए । स्थानीय सरोकारवाला र जनताको सहयोगबाट आफ्नो वडा बालश्रम मुक्त घोषणा हुन सफल भएको धारणा राखेका थिए ।
साथै मंसिर २३ गतेसम्म त्रिवेणी गाउँपालिकाका सबै वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरि पौष मसान्तसम्म बालश्रम मुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य रहेको अध्यक्ष वलीले बताए । उक्त कार्यक्रमको सञ्चालन गाउँपालिका प्रशासन अधिकृत हेमराज उपाध्यायले गरेका थिए ।


