दाङ कांग्रेस सभापतिमा शंकर निर्वाचित

दाङ । दाङ नेपाली कांग्रेसको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन्। सभापति पदका लागि चार जना प्रतिस्पर्धामा उत्रिएका थिए । चार जना मध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आज दोस्रो चरणको मतदान हुने तयारी रहेको थियो । तर चार प्रतिस्पर्धी मध्ये सबैभन्दा बढी मत प्राप्त गरेका डाँगी सहमतिकै आधारमा सभापति निर्वाचित भएका हुन्।

दोस्रो चरणको मतदानमा भूपबहादुर डाँगी र शंकरप्रसाद डाँगीबिच प्रतिस्पर्धा हुने भएको थियो । शनिबार भएको निर्वाचनमा दोस्रो स्थानमा मत प्राप्त गरेका भूपबहादुर डाँगीले शंकरलाई सभापति बनाउन लिखित सहमति दिएपछि शंकरप्रसाद सभापति भएका हुन्।

कूल २१३७ मत खसेकोमा शंकरले सबै भन्दा धेरै ७७६ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी भूपबहादुरले ४५६ मत प्राप्त गरेका थिए ।

भूपबहादुरले आफ्नो उम्मेदवारी फिर्ता लिँदै शंकरलाई समर्थन गरेको हुँदा सहमतिमा जिल्ला सभापति निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।

जिल्ला सभापतिमा निर्वाचित डाँगी संस्थापन इतरका हुन्। अन्य तीन जना प्रतिस्पर्धी भने संस्थापन पक्षधर हुन्।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस