
रोल्पा । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय माडी गाउँपालिका ३ तालाबाङ रोल्पाको नवनिर्मित भवन तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा माडी गाउँपालिका ३ का वडा अध्यक्ष दल बहादुर घर्ती(काँसन)को अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवाद केन्द्रका केन्द्रीय सदस्य एवं नेपाल सरकारका शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीमगर रहेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि घर्तीमगरले नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल सरकारले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा राम्रो लगानी गरेको र गरिरहने बताइन् । आज दुर्गम ठाउँमा ठूलाठूला भवन निर्माण हुनु र खेलकुदको विकास हुनु खुशीको अनुभूति भएको बताइन् । संघीयताले घर नजिकमा ठूला विद्यालयको स्थापना हुनु परिवर्तनको संघर्ष, योगदान र त्याग भएको उनले बताइन् ।

त्यस्तै घर्तीमगरले अहिले समय परिवर्तन भएसँगै पहिलो जस्तो घरदेखि तीन चार घण्टा हिडेर विद्यालय जानुपर्ने बाध्यता नभएको र माध्यमिक शिक्षासम्म आफ्नो घरबाटै पुरा गर्न सकिने बताइन् । घर नजिकमा प्राविधिक शिक्षा विद्यालयमा आइरहेकोले आफ्नो घरमा उत्पादन हुने अर्गानिक खाना खाएर पढ्न सकिने उनको भनाइ थियो । साथै उनले शिक्षा र स्वास्थ्यको अवस्था देखेर अच्चम भएको उद्घोष गर्दै, शिक्षामा राम्रो प्रगति हुन नसक्नु र स्वास्थ्यमा भरपर्दो सेवा प्राप्त गर्न नपाउनु दुर्गममा बसोबास गर्ने जनताको लागि दिवा सपना जस्तै भएको बताइन् । खेलकुद क्षेत्रमा सोचेको जस्तो विकास हुन नसक्नु देशको लागि अर्को दुर्भाग्यपूर्ण रहेको घर्तीको भनाइ थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रोल्पा जिल्लाका अध्यक्ष हरिप्रसाद घर्तीमगर, माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगरलगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधि, राजनीतिक दलका प्रमुख प्रतिनिधि र स्थानीयहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ ।