काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा निधीले उम्मेदवारी घोषणा गरेका हुन् ।
‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु ।’ पत्रकार सम्मेलनमा उनले भने, ‘परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।’
नेता निधीले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने, कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने बाचासमेत गरेका छन् । आफ्ना बाचाहरुलाई पाँच वर्षभित्र पूरा गर्ने घोषणासमेत गरे ।