आइतबारदेखि मौसममा सुधार

काठमाडौं । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा पनि असर गरेको छ । यसको असर आगामी आइतबारदेखि कम हुँदै जाने पूर्वानुमान मौसमविदले गरेका छन् ।

अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो अवस्था शनिबार रातिसम्म रहने मौसम पूर्वानुमान महाशाखा मौसमविद निराजन सापकोटाले जानकारी दिए । उनकाअनुसार आइतबार बिहानदेखि बिस्तारै पश्चिमबाट खुल्दै पूर्वी भूभागतिर जान्छ । यसबाट पारदर्शितामा पनि वृद्धि हुन्छ ।

निम्न चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागहरूमा चिसो बढ्ने र तुवालेको कारणले पारदर्शितामा कमी आउने महाशाखाले जनाएको छ । पारदर्शितामा कमी आउँदा सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस