फेसबुक चलाउँदा मोबाइलको डेटा यसरी जोगाउनुहोस्

काठमाडौं । विश्वभर निकै लोकप्रिय रहेको सामाजिक सञ्जाल फेसबुक प्रायः इन्टरनेटका सबै प्रयोगकर्ताले चलाइरहेकै हुन्छन् । वाईफाई तथा फिक्स्ड इन्टरनेट भएको अवस्थामा त मोबाइलमा फेसबुक एप चलाउन कुनै समस्या नै रहेन ।

सामान्य अवस्थामा फेसबुक एपमा भिडिओ सामग्री आफैं प्ले हुने र फोटो तथा ग्राफिक्स उच्च क्वालिटीमा देखिने गर्छन् । तर यदि मोबाइल डेटाबाट चलाउँदै हुनुहुन्छ भने यसले तपाईंको मोबाइल डेटा धेरै नै छिटो सकिने गर्छ ।

मोबाइलमा फेसबुक एप चलाउँदा डेटा जोगाउनका लागि सुरुमा आफ्नो मोबाइलमा रहेको फेसबुक एप खोल्नुहोस् र माथि दायाँ कुनामा रहेको तीन ओटा धर्सा भएको बटनमा जानुहोस् ।

अब केही तलतर्फ स्क्रोल गर्नुहोस् र ‘सेटिङ एन्ड प्राइभेसी’ भित्र रहेको सेटिङ्समा जानुहोस् । त्यहाँ तल रहेको मिडियामा जानुहोस् ।

अब त्यहाँ तपाईंले ‘भिडिओ क्वालिटी’, ‘अटो प्ले’ (स्क्रिनमा भिडिओ आउने बित्तिकै आफैँ बज्ने) र ‘भिडिओ एन्ड फोटो सेटिङ’ अन्तर्गत उपलब्ध विकल्प मध्येबाट आफ्नो अनुकूलता अनुसार टिक लगाउँदै जानुहोस् ।

जसमा ‘भिडिओ क्वालिटी’ अन्तर्गत डिफल्ट रुपमा ‘अप्टिमाइज्ड’मा टिक लागेको हुन्छ । यसमा तपाईंको इन्टरनेट नेटवर्क अनुसार भिडिओको क्वालिटी कस्तो हुने भन्ने कुरा स्वतः तय हुन्छ ।

यदि दोस्रो विकल्प ‘डेटा सेभर’ मा टिक लगाउनु भयो भने यसले तपाईंको फेसबुकमा देखिने भिडिओको क्वालिटीलाई घटाएर ४० प्रतिशत डेटा जोगाइदिन्छ ।

यसमा रहँदा तपाईंको मोबाइलमा रहेको ब्याट्री लो हुँदा भने भिडिओ आफैँ बज्दैन । यहाँ दोस्रोमा रहेको ‘अन वाईफाई अन्ली’ मा टिक लगाएर वाईफाईमा मात्रै ‘भिडिओ अटोप्ले’ हुने र मोबाइल डेटाबाट चलाउँदा ‘अटोप्ले’ बन्द हुने गरी मिलाउन सक्नुहुन्छ ।

तर यदि तपाईं वाईफाई र मोबाइल डेटा दुवैमा फेसबुक एप चलाउँदा भिडिओ आफैँ प्ले नहोस् भन्ने चाहनुहुन्छ भने तेस्रो विकल्पको रुपमा रहेको ‘नेभर अटोप्ले भिडिओ’मा टिक लगाउन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस