तुलसीपुर खानेपानीमा बन्दसत्रको मिति आज टुंगो लाग्ने दावि


तुलसीपुर–
कार्यसमितिको कार्यकाल सकिएको करिब १८ महिना बितिसक्यो तर तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नयाँ नेतृत्व छनौट हुन सकेको छैन् ।
कार्यसमितिको गतवर्ष चैतमा नै पदावधि सकिएपनि वर्तमान पदाधिकारी बिचमा देखिएको आन्तरिक विवादका कारण अहिलेसम्म नयाँ नेतृत्व छनौट हुन नसकेको हो ।

नयाँ नेतृत्वका लागि गत वर्ष चैत २२ गते चुनावको मिति तोकिएपनि संस्थाको विषयमा अदालत र अख्तियारसम्म पनि उजुरी परेपछि निर्वाचन रोकिएको थियो । खानेपानी संस्थाका पूर्वकर्मचारी यमुना शाहले संस्थाविरुद्ध हालेको रिटमा उच्च अदालत तुलसीपुरले गतवर्ष निर्वाचनका गतिविधि अगाडि नबढाउन आदेश दिएको थियो । तर यसवर्षको कार्तिक १५ गतेमा अदालतले संस्थाको नयाँ नेतृत्व एक महिनाभित्र चयन गरिसक्न आदेश जारी गरेको छ । अदालतको आदेशपछि पनि नयाँ नेतृत्वका लागि बाटो खुलेपनि अहिलेसम्म सरोकारवाला निकायले कुनै पहल नगरेको देखिएको छ ।

संस्थामा नयाँ नेतृत्व छनौट एक महिनाभित्र गरिसक्न भनेर संस्थामा २५ कार्तिकमा मात्रै पत्र प्राप्त भएको संस्थाका सचिव मनोज लामीछानेले बताउनुभयो । ‘अदालतको पत्र बिहिबारमात्रै प्राप्त भएको छ ।’ उहाँले भन्नुुभयो-‘हामीलाई पत्र प्राप्त भएको मितिले एक महिनाभित्र नेतृत्व छनौट गर्छौँ ।’ उहाँले केहिदिनभित्र बन्दसत्र गरेर अधिवेशनको मिति तय गरिने बताउनुभयो ।

खानेपानी संस्थाका अध्यक्ष खेमराज वलीले गत भदौमा नै राजिनामा दिइसकेका छन् । अध्यक्षको राजिनामा आएपछि संस्थामा आर्थिक कारोबार रोकिएको थियो । कर्मचारीको तलबभत्तासमेत रोकिएपछि जिल्ला प्रशासन कार्यालय दाङले संस्थाका कोषाध्यक्ष र लेखापाललाई आर्थिक कारोबारको जिम्मा दिइसकेको छ ।

अध्यक्ष बिहिन संस्थामा अन्य पदाधिकारीले नियमित काम गरिरहेका छन् । संस्थाका कोषाध्यक्ष सीताराम शर्माले गत असोज १३ मा नै जिल्ला प्रशासन कार्यालयबाट आर्थिक कारोबारको अख्तियारी आएकोले सहज भइसकेको बताउनुभयो । ‘संस्थामा नयाँ नेतृत्व आउनुपर्छ, त्यो काम अब केहिदिनभित्र हुन्छ ।’ उहाँले भन्नुभयो-‘अदालतको आदेश गरिएको मितिभित्रै नयाँ नेतृत्व छनौट हुन्छ ।’ उहाँले आइतबार कार्यसमितिको बैठक बसेर बन्दशत्रका टुंगो लगाउने तयारी भएको बताउनुभयो ।

‘आइतबार कार्यसमितिको बैठक बसेर बन्दशत्रको मिति टुंगो लगाउँछौँ ।’ उहाँले भन्नुभयो-‘बन्दशत्रपछि नेतृत्व छनौटका लागि अधिवेशनको मिति टुंगो लाग्ने छ ।’ खानेपानी संस्थामा लामो समयसम्म नेतृत्वबिहिन हुँदा पनि जिल्लामा क्रियाशिल राजनैतिक दलले पनि चासो दिएका छैनन् ।

गतवर्ष नै कार्यसमितिको कार्यकाल सकिएपनि अहिलेसम्म नयाँ नेतृत्व छनौटका लागि कुनै पहल हुन नसकेको देखिएको छ । उच्च अदालत तुलसीपुरले गत कार्तिक १५ मा एक महिनाभित्र नयाँ नतृत्व छनौट गर्न आदेश जारी गरेपनि राजनैतिक दलले चासो नदिदाँ समयमै नेतृत्व छनौट हुनेमा शंका उत्पन्न भएको छ । नेपाली कांग्रस दाङका सभापति कृतिबहादुर खड्काले आफुहरु कांग्रेसको १४ औँ महाधिवेशनको तयारीमा जुटेकाले पनि खानेपानी संस्थाको नयाँ नेतृत्व छनौटमा ध्यान पुग्न नसकेको बताउनुभयो । ‘अहिले हामीलाई महाधिवेशनको चटारो छ ।’ उहाँले भन्नुभयो-‘महाधिवेशनपछि नै कसलाई उमेदवारी बनाउने भन्ने टुंगो लाग्ने छ ।’

नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले खानेपानीको नयाँ नेतृत्व छनौटका लागि सहमतीको प्रयास गरिरहेको बताउनुभयो । ‘खानेपानी जस्तो संस्थामा सकेसम्म निर्वाचन नगरेर सहमति हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।’ उहाँले भन्नुभयोे-‘यदि सहमतीको वातावरण भनेपनि निर्वाचनमा जान तयार छौँ ।’ अदालतले जारी गरेको मितिभित्र नेतृत्व छनौट गर्नका लागि एमाले तयार रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस