भारतको राजस्थानमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्‍यु

काठमाडौं । भारतको राजस्थान बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा बस र ट्रक (ट्रेलर) एकआपसमा ठोक्किदा १२ जनाको मृत्यु भएको छ । राजमार्गमा गलत दिशाबाट आइरहेको ट्रेलर र बर्स ठोक्किँदा १२ जनाको मृत्यु भएको हो ।

भाडियावास गाउँको संस्कार स्कूल नजिकै बिहान १०ः३० बजे बस र ट्रेलर एकआपसमा ठोक्किएको भारतीय समाचार माध्यमले जनाएका हुन् ।

आपसमा ठोक्किएलगत्तै बस र ट्रेलरमा आगो लागेको थियो । आगोमा जलेर १२ जनाको मृत्यु भएको सञ्चार माध्यमले जनाएका छन् ।

जिउँदै जलेर ज्यान गुमाउनेमा एक बालिका समेत रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएका ४० जनाको उपचार भइरहेको छ । यसमध्ये १३ जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको छ ।

बस र ट्रेलर ठोक्किएपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । घटनामा परेका एक यात्रीकाअनुसार बालोतराबाट जोधपुर जाँदै गरेको बसमा ३५-४० जना यात्रु सवार थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस