काठमाडौं । आज छठ पर्वको मुख्य दिन, तराइसहित देशका विभिन्न स्थानमा आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी छठ पर्व मनाइँदै छ ।
यस्तै आज अस्ताउँदो सूर्यलाई पूजा गरी रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो ।
यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो ।
त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । ताईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । सरकारले छठको अवसरमा सार्वजनिक विदा दिएको छ ।