सल्यान बस दुर्घटनामा मृत्यु हुने १२ जनाकै सनाखत


सल्यान –
सल्यानमा बस दुर्घटना मृत्यु हुने सबैको सनाखत भएको छ । दुर्घटनामा १२ जनाको मृत्यु भएको र सबैको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २ जना पुरुष र १० जना महिला रहेका छन् ।

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ निवासी हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का निवासी बस्ने ५३ वर्षिय प्रभा चलाउने, शारदा नगरपालिका वडा नम्बर २ का ६१ वर्षिय मिना डाँगी, शारदा-३ का ६५ वर्षिय लिला बुढाथोकी, त्रिबेणी गाउँपालिका वडा नम्बर १ का २४ वर्षिय मिना शाही, दाङको बबई गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय डुलीदेवी रेउले रहेको प्रहरीले जनाएको छ ।

यस्तै शान्तिनगर-८ दाङका ३५ वर्षिय शावित्रा केसी, शान्तिनगर-६ कोर्बाङका ५ वर्षिय सुरज वली, घोराही-१० खैराका ३६ वर्षिय रुपा केसी, बबई-६ पंचकुलेका ७० वर्षिय कलावती बुढाथोकी, घोराही-१० नारायणपुरका ६५ वर्षिय इन्द्रा अधिकारी, सल्यानको त्रिवेणी-४ का ९ वर्षिय सरिता बोहरा र छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय तिलक वली रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

तिब्र गतिका कारण बस दुर्घटनामा परेको हुन सक्ने उहाँले बताउनुभयो । दुर्घटनामा २८ जना घाईते भएका छन् । घाइतेमध्ये १५ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । दुर्घटना गम्भिर घाइते १३ जनालाई जिल्ला बाहिर रिफर गरिएको छ ।

गम्भिर घाइतेमध्ये ४ जनालाई हेलिकप्टर र ९ जनालाई एम्बुलेन्समार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिनुभयो ।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ खारखोलामा दुर्घटना भएको हो । बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस