सल्यान बस दुर्घटनामा मत्यु भएका १२ मध्ये ८ जनाको सनाखत


सल्यान–
सल्यानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा २ जना पुरुष र १० जना महिला रहेका छन् । उनीहरुमध्ये अहिलेसम्म ८ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ निवासी हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का निवासी बस्ने ५३ वर्षिय प्रभा चलाउने, शारदा नगरपालिका वडा नम्बर २ का ६१ वर्षिय मिना डाँगी, शारदा-३ का ६५ वर्षिय लिला बुढाथोकी, त्रिबेणी गाउँपालिका वडा नम्बर १ का २४ वर्षिय मिना डाँगी, दाङको बबई गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय डुली रेउले रहेको प्रहरीले जनाएको छ ।

यस्तै बबई-६ पंचकुलेका ७० वर्षिय कलावती बुढाथोकी, घोराही-१० नारायणपुरका ६५ वर्षिय इन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय तिलक वली रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक चार जनाको अझै सनाखत हुन सकेको छैन् । तिब्र गतिका कारण बस दुर्घटनामा परेको हुन सक्ने उहाँले बताउनुभयो । दुर्घटनामा १३ जना गम्भिर घाइते भएका छन् ।

गम्भिर घाइतेमध्ये ४ जनालाई हेलिकप्टर र ९ जनालाई एम्बुलेन्समार्फत नेपालगञ्ज लैजान लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिनुभयो ।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ खारखोलामा दुर्घटना भएको हो । बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस