
तुलसीपुर-
तुलसीपुरका मिलमा तेलको मूल्य फरक फरक छ । तिहार नजिकिएसंगै मिल संचालकले मनोमानीरुपमा तेलको मूल्य गरेका छन् । मूल्यमा एकरूपता नहुँदा उपभोक्ता पाइला-पाइलामा ठगिएका छन् ।
बजारमा खाने तेलको मूल्य प्रतिलिटर २५० देखि ३७० सम्म हुँदा पनि नियमन गर्ने निकायले सक्रियता बढाउन सकेको छैन् । तिहारको मुखैमा तेलको मूल्य अस्वभाविक रूपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका हुन् ।
तिहारको मुखैमा बाध्यात्मक स्थितिमा बढी मूल्यमा तेल किन्नु परेको तुलसीपुर-१० गीता बुढाथोकीले बताईन् । ‘तेलको मूल्य जति बढेपनि के गर्नु र ?, तिहारमा तेल प्रयोग बढी हुने भएकाले तेलको मूल्य जति भएपनि किन्नैपर्छ ।’ उनले भनिन्-‘पछिल्लो समय हप्ता-हप्ता दिनमा तेलको भाउ बढ्न थालेको छ, खै नियमन निकायले केहि चासो दिएको छैन् जस्तो लागेको छ ।’
मिल संचालकले तिहारको मुखैमा तेलको भाउ अस्भाविकरुपमा बढाएका छन् । अस्वभाविकरुपमा तेलको प्रतिलिटर २० देखि ६० रुपैँयासम्म तेलको भाउ बढेपछि उपभोक्ता मारमा परेका छन् ।
दसैँ अघि प्रतिलिटर २८० पर्ने तेलको मूल्य अहिले ३ सयदेखि ३४० सम्म पुगेको हो । तेलको भाउ अझै बढ्न सक्ने मिल संचालकले बताएका छन् । केहि दिनभित्र प्रतिलिटर ३ सय ७० रुपैँयासम्ममा मात्रै खाने तेल पाउन सकिने धौलु मिलका संचालक कुशल तर्तालले बताए ।
‘अहिले तेलको अभाव छ, तपाईले अहिले नै प्रतिलिटरलाई ३७० मा किन्छु भनेपनि पाउनुहुँदैन् ।’ उनले भने-‘हामीले कालोबजारी गरेका होइनौँ, तोरी नै नपाएपछि तेल कसरी पाउनु र ?’
रिजाल मिलका संचालक चिरन्जीवी रिजालले तोरीकै तेल आफुहरुले प्रतिलिटर ३ सय रुपैँयामा बिक्रि वितरण गर्दै आएको बताए ।‘अहिलेको अवस्थामा प्रतिलिटर ३ सय रुपैँयामा बिक्रि गर्ने गरेका छौँ ।’ उनले भने-‘तेलको भाउ अझै बढ्न सक्छ, तर अहिलेलाई अन्य ठाउँभन्दा सस्तोमा बिक्रि वितरण गरिरहेका छौँ ।’
गणपति तेल उद्योगले प्रतिलिटर ३ सय ३० तोरीको तेल बिक्रि वितरण गरिरहेको छ । बाहिरबाट आयातीत तेलभन्दा स्थानीय तोरीको तेलको मूल्य अलिकति बढी रहेको गणपतिका संचालक जित बहादुर बस्नेतले बताए ।
‘यसअघि प्रतिलिटर ३ सयमा बिक्रिवितरण हुने गरेकोमा तिहारको समयमा ३० रुपैँयाले वृद्धि भएको हो ।’ उनले भने-‘बाहिरबाट आयातीत तेलको मूल्य त्यो भन्दा सस्तो छ ।’ तिहारको समयमा तेलको मूल्य अस्वभाविक वृद्धि भएको गुनासो व्यापक आएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताइन् । ‘तेलको मूल्य बढेको विषयमा गुनासो आएको छ ।’ उनले भनिन्-‘मनपरी मूल्य वृद्धि गर्नु उपभोक्ता अधिकार हनन हो ।’
उपभोक्ता अधिकारकर्मी नवीन पोख्रेलले उपभोक्ताहरू ठग्ने उद्योगहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । मनोमानी मूल्यतय गर्नेहरूलाई तत्काल कारवाही गरेर उपभोक्तालाई ठगीबाट बचाउनुपर्ने उनको भनाई छ ।