१० वर्षे जनयुद्धले जाति तथा वर्गको प्रतिनिधित्व सुनिश्चित भएको हो : आचार्य

भालुबाङ । अर्घाखाँचीको भालुबाङमा मगर राष्ट्रिय मुक्ती मोर्चा लुम्बिनी प्रदेशको छौंठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ले एशियाली समाजमा वर्गीय असमानताका साथै जातीय र क्षेत्रीय असमानता पनि भएकाले पार्टीले जातीय मोर्चाहरु निर्माण गर्नुपरेको बताएका छन् ।

‘नेपालमा समानुपातिक, समावेशी र उत्पीडितहरुको एजेण्डा स्थापित गर्ने माओवादी नै हो,’ उनले भने ‘माओवादीले सञ्चालन गरेको १० वर्षे महान जनयुद्धले पछाडी पारिएका जाति तथा वर्गको प्रतिनिधित्व सुनिश्चित भएको हो ।’

आचार्यले जातीय मुक्ति तथा वर्गी मुक्तिका लागि मोर्चाहरु सशक्त भएर लाग्नुपर्ने बताए । अहिले पनि प्राप्त उपलब्धिहरु गुम्ने खतरा भएको उल्लेख गर्दै उनले त्यसका लागि सबै वर्ग समुदाय सशक्त भएर लाग्नुपर्ने बताए । अहिलेको लडाई परिवर्तन पक्षधर र प्रतिगामीहरुको भएको उल्लेख गरे साथै केही शक्तिहरु गणतन्त्र, संघीयता र धर्मनिपक्षताको विपक्षमा उभिएकाले उनीहरुलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

मोर्चाका प्रदेश अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा तथा केन्द्रीय संयोजक गणेश सलामी मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको बैठकमा अतिथि प्रदेश इञ्चार्ज भीमकुमारी बुढा मगररहेका थिए । बैठकले आगामी मंसिर २० र २१ गते सबै स्थानीय तहहरुको सम्मेलन गर्ने निर्णय गरेको छ । मोर्चाको राष्ट्रिय सम्मेलन पुस ९ र १० गते हुँदै छ । बैठकको सञ्चालन सचिव जितु तरामी मगरले गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस