दाङ –
जीतबहादुर बादी यसवर्षको तिहार नजिकिदै गर्दा पनि फुर्सदिलो छन् । तुलसीपुर-४ का उनलाई यसवर्ष पनि देउसी भैलोका लागि मादलको माग आउन सकेको छैन् । मादलको माग कम आएपछि उनी फुर्सदिलो बनेका छन् । कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गएपनि देउसीभैलीको लागि मादल बनाउने , मादल किन्नेहरुको संख्या बढ्न नसकेको उनको भनाई छ ।
‘गतवर्ष कोरोनाले मादलको व्यापार भएन्, यसवर्ष पनि अहिलेसम्म मादलको व्यापार हुन सकेन् ।’ उनले भने-‘मादलको माग कोरोनापछि ह्वात्तै घटेको छ ।’ मादलको माग घटेपछि दैनिकी कसरी चलाउने हो चिन्ताले सताउन थालेको उनले बताए । ‘विषेशगरी धेरै आम्दानी हुने समय भनेको त तिहार नै हो, यो समयमा पनि मादलको माग कम भएको छ’ उनले भने-‘ मादलको व्यापार नहुँदा तिहार कसरी धकेल्ने हो भन्ने चिन्ताले सताएको छ ।’
दिपावली पर्व नजिकैगर्दा मादलबाट राम्रै आम्दानी हुने गरेपनि यसवर्ष त्यस्तो अवस्था नदेखिएको सोहि ठाउँकै दुर्गाबहादुर नेपालीले बताए । यसवर्षको तिहार नजिकिए पनि अहिलेसम्म उनलाई मादलको माग आउन सकेको छैन् । मादल नेपाली गितसंगितका लागिमात्रै नभएर तिहारमा खेलिने देउसीभैलोको लागि महत्वपूणर् मनिने बाजा हो तर पछिल्लो समयमा मादलको माग कम हुँदा वादीसमुदायको पेशा नै संकटमा परेको छ ।
गतवर्षमा कोरोना महामारीले देउसी भैलो नै नहुने भएपछि मादलको माग घटेको थियो , पछिल्लो समयमा भने बजारमा भित्रिएको प्रविधिले पनि मादलको मागमा कमि आएको उनिहरुको गुनासो छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बायखोलका गेहेन्द्र बादीलाई कुनै समय तिहारको समयमा मादल बनाउन भ्याइनभ्याई हुने गरेको थियो । तिहारमा खेलिने देउसी भैलोका लागि मादलको माग अत्याधिक हुँदा उनले वर्षदिनको आम्दानी तिहारमा मात्रै गर्थे तर करिब तीन वर्षदेखि उनले मादलबाट मनग्य आम्दानी गर्न सकेका छैनन् ।
‘मादलबाट आम्दानी पनि राम्रै भएको थियो ।’ उनले भने-‘कोरोना महामारी शुरु भएयता मादलको व्यापार हुन सकेको छैन्, यसवर्ष पनि गतवर्षकै प्रभावका कारण मादलको व्यापार घटेको छ ।’ तिहारको समयमा ४०/५० वटा मादलको व्यापार गर्ने गरेका उनले पछिल्लो समय तिहारको समयमा ५/७ वटामात्रै पनि मुस्कीलले बिक्रि गर्ने गरेका छन् । ‘मादलको खोजि पनि कम हुन थालेको छ, मादल नै कम बजाएपछि व्यापार धेरै कम हुन थालेको छ ।’ उनले भने-‘अहिले कोरोना महामारीपछि त हामीहरु धेरै समस्यामा परेका छौँ ।’
मादल बनाएरै आफु र आफ्नो परिवारको दैनिकी चलाउन सहज बनेको अवस्थामा पछिल्लो समय मादलको माग कम हुँदा समस्या हुन थालेको उनले बताए । ‘मादलको व्यापार नै छैन्, मादल बिक्रि हुने समय भनेकै त तिहारको समय हो तर पछिल्लो समय कोरोना महामारीका कारण मादलको माग पनि ह्वात्तै घटेको छ’ उनले भने-‘ पछिल्ला वर्षहरुमा तिहारमा मादलको माग घट्न थालेको छ, अब त मादल बनाएर पनि दैनिकी चल्दैन् ।’
तिहारको समयमा बिगतका वर्षहरुमा दैनिकरुपमा ४ हजारसम्म आम्दानी गर्ने गरेपनि यसवर्ष १ हजारको समेत व्यापार हुन नसकेको उनले बताए । ‘मादल प्रविधिको कारणले पनि पछिल्लो समय हराउँदै गएकोे छ, गतवर्षका दिनमा कोरोना महामारीले तिहारमा भैलि नहुने भएपछि मादलको माग पनि आउन सकेको थिएन, यसवर्ष पनि त्यस्तै भएको छ ’ उनले भने-‘अब त आशा पनि मरिसक्यो, आम्दानी नै नभएपछि तिहार पनि नरमाईलो हुनेभयो ।’
मादलको बजार राम्रो नभएपछि वादी समुदायको बावुबाजले गर्दै आएको मादल बनाउने पेशा संकटमा पर्न थालेको छ । अब यस्तै अवस्था भएमा भावि पुस्तलाई मादल बनाउनेबारे ज्ञानको अभाव हुने निश्चित देखिएको ति बादी समुदायले कसरी बनाउने भन्ने पनि समस्या उब्जन थालेको छ । बजारमा भित्रिएको प्रविधि र कोरोनाको प्रभाव अझै भएकाले वादी समयुदायको मादल बनाउने पेशा नै संकटमा परेको हो ।