काठमाडौं । सरकारले अफगानिस्तानबाट थप ३२ जना नेपाली नागरिकलाई उद्दार गरी स्वदेश ल्याएको छ । शनिबार (आज) बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए ।
योसँगै अफगानिस्तानमा अब उद्दारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दावी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्दारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए ।
घिमिरेकाअनुसार आज नेपाल एयरलाईन्स दुवई दुवई फ्लाईटबाट २९ जना नेपालीहरु आएको र यस अघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्दारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यस अघि नै उद्दार गरिएको थियो ।


