चिसो बढ्दै : दाङको न्युनतम तापक्रम लगातार घट्दै


दाङ-
दाङसहित देशभर चिसो बढ्न थालेको छ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ ।

अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । तर, बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ । हिजो भन्दा आज दाङको न्यूनतम तापक्रम झण्डै २ डिग्री सेल्सियस कम छ । जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ । हिजो दाङको न्यूनतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सीयस थियो ।

आज दाङको न्युनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम फिल्ड कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार दैनिकजसो न्युनतम तापक्रम घट्दै गएको छ । कार्तिक ६ गते १९ डिग्री सेल्सीयस रहेको ७ गते १८ डिग्री सेल्सीयस रहेको थियो ।

मौसमविद् समिर श्रेष्ठका अनुसार दाङसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ ।

यसैबीच, अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । दाङ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा अहिले लागेको बादल केहीबेरमा हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस