काठमाडौं । सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बताएका छन् । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा उनले पर्सि (मंगलबार) देखि गोला प्रथाबाट पेशी तोक्ने बताएका बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो ।
तर प्रधानन्यायाधीशले गोला प्रथाबाट पेशी तोक्न आनाकानी गरेको भन्दै विरोध भइरहेको थियो । बारका महासचिव पौडेलले प्रधानन्यायाधीश जबराले सम्भवतः मंसिरदेखि अटोमेसनमा लैजाने उनले बताएको जानकारी दिए ।
प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार