बुटवल । गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दुई अर्बको बुद्ध मूर्ति राखिने भएको छ ।
साढे दुई अर्ब रुपैयाँ मूल्यको १८ सय किलोग्राम तौलको बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धको मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो ।
फाउण्डेसनले म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याएको हो । उक्त मूर्तिलाई शनिबार भैरहवा बजार परिक्रमापश्चात गौतमबुद्ध विमानस्थलमा ल्याएर राखिएको छ ।
६ महिना लगाएर भिक्षुहरुले कुदेको उक्त बुद्ध मूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरेको हो ।
एक हजार ८ सय किलोग्राम तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्ध मूर्तिको कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम रहेको छ ।
म्यान्मारबाट नेपाल ल्याउँदा लाग्ने ढुवानी खर्च भने फाउन्डेसनले व्यहोरेको हो । मूर्ति १२ हजार अमेरिकी डलर ढुवानी चार्ज तिरेर म्यान्मारबाट नेपाल ल्याइएको हो ।