लुम्बिनी प्रदेशमा २६ जनाको मृत्यु



दाङ-

सवारी दुर्घटना न्युनिकरणका विभिन्न प्रयास भएपनि दुर्घटना रोकिन सकेको छैन् । चाडपर्वको समयमा झनै बढी दुर्घटना हुने गरेका छन् । लुम्बिनी प्रदेशमा यसवर्षको दसैँ अवधिमा सवारी दुर्घटनाबाट २६ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रदेशका १२ जिल्लामध्ये ८ जिल्लामा दसैँको अवधिमा २७ सवारी दुर्घटनामा २६ जनाको मृत्यु भएको हो ।

file pic

प्रदेशको राजधानी दाङसहित बाँके, बर्दिया, गुल्मी, रोल्पा, पाल्पा, कपिलवस्तु र रुपन्देहीमा भएका दुर्घटनामा २६ जनाले मृत्युवरण गर्नुपरेको हो । प्रदेशमा १ वर्षदेखि १६ वर्षसम्मका बालक ३ जनाको मृत्यु छ भने सोहि उमेर समुहका २ जना बालिकाको मृत्यु भएको छ ।

यसैगरी १६ देखि ३० वर्षसम्मका ४ पुरुष र ३ जना महिलाको मृत्यु भएको छ । त्यसैगरी ३० देखि ६० वर्ष उमेर समुहका ४ पुरुष र ५ महिलाको मृत्यु भएको छ । यसैगरी ६० देखि माथि उमेरसमुहका ३ पुरुष र २ महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दसैँको अवधिमा सवारी दुर्घटनाबाट बाँकेमा सबैभन्दा धेरैको मृत्यु भएको छ । गत असोज २२ देखि कार्तिक २ गतेसम्मको अवधिमा बाँकेमा सवारी दुर्घटनाका कारण ९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी राजेन्द्र सिंह खड्काले जानकारी दिनुभयो ।

बाँकेमा सोहि अवधिमा सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । दसैँको अवधिमा बाँकेमा साना ठुला गरी ९ वटा सवारी दुर्घटना भएका छन् ।

लुम्बिनी प्रदेशमा दसैँको अवधिमा सवारी दुर्घटनाबाट मृत्यु हुने बाँकेपछि रुपन्देही रहेको छ । रुपन्देहीमा दसैँको अवधिमा ८ सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा सोहि अवधिमा ११ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै बर्दियामा चार सवार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

यस्तै गुल्मीमा दुई सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । यसैगरी रोल्पामा दुई सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

यस्तै दाङमा चार सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यस्तै कपिलवस्तुमा १० सवारी दुर्घटना भएका छन् । दसैँको अवधिमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

यसैगरी नवलपरासी पश्चिममा १४ वटा सवारी दुर्घटना भएका छन् भने ति सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । दसैँको अवधिमा ५३ सवारी दुर्घटनामा ७९ जना घाइते भएका छन् ।

यस अवधिमा सबैभन्दा बढी साना सवारी साधन दुर्घटनामा परेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार साना सवारी साधन ३८ वटा सावारी साधन दुर्घटनामा परेका छन् ।

ठुला सवारी साधन ११ र मझौला सवारी साधन ४ वटा दुर्घटनामा परेका छन् । दसैँको अवधिमा यात्रुको चाप बढी हुने, सवारी कम हुने, भौगोलिक विकटता, चालकको लापरबाही, साँघुरो बाटो लगायतका कारण दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस