दाङ, १ कार्तिक ।
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले डाक्टरलाई जिम्मेवार ढंगले काम गर्न निर्देशन दिनुभएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अनुगमन तथा निरिक्षण गर्दै स्वास्थ्यमन्त्री मन्त्री थारुले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले बिरामीको सेवामा विज्ञतालाई लगाउन डाक्टरलाई निर्देशन दिनुभयो ।
डाक्टरमा नेता बन्ने प्रवृति हावि हुँदा बिरामीले सास्ती पाएको बताउँदै उहाँले डाक्टर र अस्पताल व्यवस्थापन समितिले आ-आफ्नो जिम्मेवारी पूर्वक काम गरेमा अस्पतालको सेवाप्रति नागरिकको सन्तुष्टी बढ्दै जाने बताउनुभयो ।
उहाँले प्रदेशमा रहेका जिल्ला तथा प्रादेशिक अस्पताललाई स्तरोन्तीका लागि प्रदेश सरकारले आवश्यक बजेट बिनियोजन समेत गर्ने तयारी गरेको समेत बताउनुभयो ।
सेवा सुविधा कम हुँदा सरकारी अस्पतालमा डाक्टरहरुको अभाव हुने गरेको बताउँदै उहाँले प्रदेश सरकारले डाक्टरको सेवा सुविधा बढाउने गरी आवश्यक बजेट विनियोजन गरिने बताउनुभयो ।
त्यस अवसरमा राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालको स्तरोन्नती भएपनि आवश्यक जनशक्तिको अभावमा सेवालाई बढाउन नसकिएको बताउनुभयो ।
उहाँले आवश्यक जनशक्तिसहितको माग पत्र प्रदेश सरकारलाई बुझाएको बताउँदै त्यसको व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रीलाई आग्रह गर्नुभयो ।


