काठमाडौं । अमेरिकाले इलेक्ट्रोनिक डाइभार्सीटी भिसा (ईडिभी चिट्ठा) खुला गरेको छ । सन् २०२३ का लागि अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९ः४५ देखि डिभी चिट्ठा खुला गरेको हो ।
‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिने जारी सूचनामा जनाइएको छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ।
अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डीभी चिठ्ठा भर्ने फाराम राखिएको छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ । अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गरेपछि उक्त कन्फरमेसन कोडको माध्यमबाट डीभी चिठ्ठा परे नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।
यदी डीभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।
त्यसपछि अमेरिकी अध्यागमन विभागले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । डीभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । अमेरिकाले डीभी परेका करिव ४० प्रतिशतलाई मात्रै भिसा दिने गरेको बताइन्छ ।