
चन्द्रौटा । अस्पतालका बेड भरिएका छन् । बिरामीहरु आउने घुईंचो छ । अन्य नागरिकहरुमा त्रास छ । अस्पताल अपुग भएपछि विद्यालयमा बिरामीहरुको उपचार भइरहेको छ । अहिलेसम्म अस्पतालसँग सम्पर्कमा आएका बिरामीको सख्या २९५ पुग्यो । अन्य स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचारत बिरामीहरुको सख्या अनगिन्ती छ ।
दुई दिनदेखिको यो प्रकोप रोकिएको छैन । गत सोमबारबाट फैलिएको झाडापखलाका बिरामीहरुले अहिले अस्पतालमा भरिभाराउ रहेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादु्रगञ्जमा रहेको शिवराज अस्पतालमा वेड अपुग भएपछि नजिकै रहेका दुई वटा विद्यालयमा बिरामीहरुलाई उपचार भइरहेको छ । राम गोरखा माविमा अहिले ४० जना र महेन्द्र आधारभुत विद्यालयमा १० जना बिरामी उपचार भइरहेको छ, भने अस्पतालमा २ सय ४५ जना अस्पतालमा उपचारत रहेका छन् ।
बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पताले जनाएको छ । बिरामीलाई अस्पतालले थेग्न सक्ने अवस्था नरहेको डा मुकेश चौधरीले बताए ।
अहिले यस अस्पतालमा ७ जना डाक्टरहरले उपचार गरिरहेका छन् । प्रदेशबाट २ जना, जिल्लाबाट ४ जना र एक जना यसै अस्पतालमा कार्यरत डाक्टरहरुले उपचार गरिरहेको बताइएको छ । हिजो मात्रै प्रकोपका कारण दुई जनाको ज्यान गएको थियो । अस्पतालमा अहिलेसम्म कसैको ज्यान नगएको अस्पताल प्रशासनले जनाएको छ ।
यदि यस्तै अवस्थामा रहेको खण्डमा उपचारको लागि औषधिको समेत समस्या हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ । दिशा र पानीको परिक्षणको रिपोर्ट अझै आइनपुग्दा कारण भने पत्ता लागेको छैन ।
चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ । यस समयमा स्थानीयहरूले दूषित पानीमा माछा मार्ने र त्यतिकै खाँदा बिरामी बढेको हुन सक्ने अनुमान रहेको छ ।