
तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक भोलि बस्ने कार्यसूचि छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले भोलि बस्ने बैठकमा प्रतिस्थापन विधेयकमार्फत बजेट पेश गर्ने तयारी गरेका छन् ।
यसअघि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर सरकार अल्पमतमा परेकाले प्रदेश सभाबाट पारित गर्न नसकेपछि अध्यादेशबाट बजेट ल्याएको थियो ।
साउन २८ गते माओवादी केन्द्रका कूलप्रसाद केसी नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेको थियो ।
नयाँ सरकार गठन भएको दुई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषदलाई पूणर्ता दिन र नयाँ बजेट ल्याउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको थियो । अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काले बताए ।