दाङ । सरकारले दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानासहित ११ जनाको सरुवा गरेको छ । रानालाई जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारीको रुपमा पठाउने भएको छ ।
गृहका अनुसार हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो । जिल्ला प्रशासन कार्यालय टीकापुरमा कार्यरत सीडीओ मोहनराज जोशीलाई डडेल्धुरामा पठाइएको छ भने डडेल्धुरामा कार्यरत हरि प्रसाद घिमिरेलाई गृहमन्त्रालय सिंहदरवारमा तानिएको छ ।
यस्तै मन्त्रालयले गृह मन्त्रालयमा कार्यरत सह-सचिव कमलराज ढकाललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा सरुवा गरेको छ भने जय नारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सिडीओ बनाएर पठाइएको छ ।
यस्तै कास्कीका सीडीओ थानेश्वर गौतमलाई गृह मन्त्रालयमा लगिएको छ भने त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा कार्यररत प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको सीडीओ बनाएर पठाइएको छ ।
यस्तै डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोम बहादुर महत, मनाङमा रविन्द्र प्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनुज कुमार घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । लमजुङका सीडीओ होमप्रसाद लुईँटेल र रसुवाका सीडीओ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।
यस्तै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौंको जेलर बनाएर पठाएको गृह मन्त्रालयले जनाएको छ ।



