सल्यान । सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । बागचौर नगरपालिका २ गैरी सल्यान निवासी अन्दाजी ५४ वर्षकी रामकली खत्री ठाटीचौरको कच्ची सडकमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।
खत्री घरदेखि करिब एक किलोमिटर दुरीमा पर्ने ठाटीचौर नजिकै सडकमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले बताए । उनका अनुसार खत्री शनिबार बेलुकी करिब ५ बजे घरबाट माइती जान्छु भनेर हिँडेकी थिइन् ।
महिलाको शव उठाइएको छैन । घटना शंकास्पद रहेकोले अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि कोहलपुरबाट तालिम प्राप्त कुकुर झिकाएर टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी गराए । कुकुरबाट अनुसन्धान गरेपछि मात्र शव उठाएर पोस्टमार्टम गरिने उनको भनाइ छ ।
प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार