उत्तरी गोरखामा चामल अभाव हुन नदिन हेलिकप्टरबाट ढुवानी

गोरखा । उत्तरी गोरखामा चामल अभाव हुन नदिन हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट चुम्चेत र छेकम्पारमा चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ ।

आइतबार चामल ढुवानी गर्ने योजना रहेपनि मौमस अनुकुल नभएका कारण हेलिकप्टर उडान हुन नसकेको बताइएको छ । पहिरोका कारण उत्तरी गोरखा जाने पदमार्ग अवरुद्ध हुँदा खाद्यान्न ढुवानीसँगै मानिस आउजाउमा समस्या हुँदै आएको छ ।

केही दिन अघि गृहमन्त्री बालकृष्ण खाँणलाई स्थानीयले अवरुद्ध पदमार्ग खुलाउन र खाद्य संकट हुन नदिन आग्रह गर्दा खाँणले अवरुद्ध पदमार्ग खुलाउने र मन्त्रालयको विपद व्यवस्थापन महाशाखाबाट खाद्यान्न व्यवस्था हुने आश्वासन दिएका थिए ।

यसअघि पनि नेपाली सेनाको हेलिकप्टरबाट उत्तरी गोरखामा १ सय ९९ क्वीन्टल भन्दा बढी चामल ढुवानी गरिसकेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस