
रोल्पा । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले संघीयताको भावनाअनुसार लोकतान्त्रिक विधि पद्धतिलाई आत्मसात गरेर सरकार अगाडि बढ्ने एक पत्रकार सम्मेलनमा बताएका छन् । बिहीबार लिबाङमा नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम चौधरीले यस्तो बताएका हुन् ।
उनले केपी ओलीले अलोकतान्त्रिक,असंवैधानिक कार्य गरेकै कारण आज संघीय सरकार र प्रदेश सरकारमा नेपाल कांग्रेस पार्टी सहभागी बन्नु परेको बताए । वर्तमान सरकारले ओली सरकारले गरेको नराम्रो कामहरूलाई नदोहोर्याउने प्रतिबद्धतासहित संघीय सरकार र प्रदेश सरकार अगाडि बढेको बताए ।
त्यस्तै शंकर पोख्रेलको नेतृत्व सरकारले अलोकतान्त्रिक विधेयक सञ्चार विधेयकलाई वर्तमान सरकारले फिर्ता गरेको हुनाले सरकार सञ्चारमैत्रीलाई प्राथमिकता दिएर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । सरकार संघीयताको भावनाअनुसार जनतालाई सेवा प्रवाहको विषयमा अध्ययन अनुसन्धानको चरणमा रहेकोले सरकारको कार्य सम्पादनको परिणाम आउन नसकेको भन्दै, निकट भविष्यमा प्रदेशबासीहरुले प्रत्यक्ष अनुभूति गर्ने परिणाम ल्याउने उद्घोष गरे ।

विगतदेखि धेरै योजना छनोट गरि बजेटको अभावमा योजना सम्पन्न समस्या भएकाले वर्तमान सरकारले योजना कम तर पर्याप्त बजेटको व्यवस्था गरी प्रदेशमा विकास गर्ने तयारी सरकारले गरेको धारणा उनले व्यक्त गरे । साथै उनले रोल्पा जिल्लाको पर्यटनलगायतका अन्य क्षेत्रको विकासहरुलाई विशेष प्राथमिकता दिने बताए । प्रदेशले पर्यटन क्षेत्रको पहिचान सहित प्याकेजमा पर्यटन विकासलाई सरकारले निरन्तरता दिएको बताए ।
त्यस्तै मन्त्री चौधरीले नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशनबाट संघीय लोकतान्त्रिक संविधानअनुसार सबैभन्दा ठूलो पार्टी बन्ने स बताए । महाधिवेशनको पूर्व सन्ध्यामा विभिन्न प्राविधिक कुराहरुको समस्याका कारण निर्धारित समयमा हुँदैन की भन्ने शंकाहरु उत्पन्न भएको छ तर पार्टीको महाधिवेशन निर्धारित समयमा सम्पन्न हुने उद्घोष गरे ।
साथै मन्त्री चौधरीले जिल्ला अस्पताल रेउघाको नवनिर्मित भवनको अवलोकन गरेका छन् । पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, खेम बहादुर बुढामगर, महेश न्यौपानेलगायतका पत्रकारहरुको सहभागिता रहेको थियो।नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष टेकबहादुर विश्वकर्माले गरेका थिए ।