
तुलसीपुर । तुलसीपुरमा दुई दिन सामुदायिक बन अधिकार सम्मेलन हुने भएको छ । सामुदायिक बनमाथि उपभोक्ताको अधिकारका विषयमा व्यापक रुपमा छलफल गर्न शुक्रबार र शनिबार सामुदायिक बन अधिकार सम्मेलन हुन लागेको हो ।
ग्रिन फाउण्डेसन नेपालको सहकार्यमा तुलसीपुर उपमहानगरपालिका र स्थानीय सामुदायिक बन उपभोक्ता महासंघ नेपाल तुलसीपुरको संयुक्त आयोजनामा सामुदायिक बन अधिकार सम्मेलन हुन लागेको हो ।
दुई दिने सम्मेलनमा सामुदायिक बनको आगामी गन्तव्य र उपभोक्ता अधिकारका विषयमा छलफल हुने नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । बनमाथि स्थानीय सामुदायको सार्वभौम अधिकारको सुनिश्चिता गर्न बृहत सामुदायिक बन अधिकार सम्मेलन हुने उनको भनाई छ ।
बन अधिकार सम्मेलनका विषयमा जानकारी दिन विहीबार आयोजित पत्रकार सम्मेलनमा सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठकले सरकारले बन संरक्षणका नाममा उपभोक्ताका अधिकारबाट बञ्चित गराएको बताइन् ।
उनले राष्ट्रिय निकुञ्ज बनाउनु कुनै आपत्ति नभएको तर सामुदायिक बन अधिकारमा उपभोक्तालाई बञ्चित गराउने काम भएको बताइन् । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार ओपेन्द्र बस्नेतले गरेका थिए ।