विद्यालयले विवरण नपठाउँदा शिक्षक विद्यार्थीको संख्या थाहा भएन

काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पटक पटक ताकेता गर्दा पनि विद्यालयहरुले विवरण नपठाएपछि शिक्षक तथा विद्यार्थीको संख्या यकिन भएको छैन । ३५ हजार ६ सय ७४ विद्यालयमध्ये हालसम्म करिब २५ हजार विद्यालयले मात्रै विवरण पठाएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ ।

केन्द्रका तथ्यांक शाखा प्रमुख रामचन्द्र शर्माका अनुसार केन्द्रले स्थानीय तहका शिक्षा समन्वय इकाईलाई विवरण भर्न ताकेता गर्न निर्देशन दिएको र सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई पनि इमेल, एसएमएस गरेर विवरण गर्न खबर गरिएको थियो ।

शैक्षिक सत्र असार १ गतेदेखि शुरु भएको भए पनि विभिन्न प्राविधिक कारणले गर्दा साउन मसान्तसम्म विवरण पठाउन विद्यालयलाई समयावधि दिएको थियो । तर विभिन्न प्राकृतिक प्रकोपका कारण कतिपय विद्यालयको भवन नै बगाएको, जोखिममा परेको लगायतका कारण भदौ मसान्तसम्म समयावधि थप गरेको थियो ।

तर पटक–पटक थप गरिएको समयमा पनि विवरण नपठाएपछि केन्द्रले विवरण नपठाउने विद्यालयको सूची सार्वजनिक गर्दै विवरण पठाउन निर्देशन दिने केन्द्रले तयारी गरेको छ ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस