दाङ। दाङमा थप साढे ३२ हजार नागरिकलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने तयारी भएको छ । चिनबाट ल्याईएको भेरोसेल खोप दाङमा आईपुगेको र यही असोज ९ देखि ११ गते सम्म साढे ३२ हजार नागरिकलाई लगाउने तयारी भएको हो ।
पछिल्लो चरणमा ३१ हजार डोज आएको र यस अघिको १५ सय डोज समेत गरी साढे ३२ हजार जनालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।
उक्त खोप ४५ देखि ५० बर्षसम्मका र यस अघि छुटेका कक्षा १२ का विद्यार्थी सँगै ५० बर्ष भन्दा माथिकालाई लगाईने उनको भनाई छ । उक्त खोप जिल्लाका दशवटै पालिकामा वितरण समेत सुरु भएको छ ।
जस अनुसार आज राप्ती गाउँपालिकामा २२ सय र गढवामा १९ सय डोज खोप पुर्याईएको छ । अन्य पालिकामा खोप आज पठाईने भएको छ ।
यसैबिच जिल्लामा अहिलेसम्म करिब ३४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा कुल जनसंख्याको करिब एक लाख ३० हजार बढीले खोप लगाएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योती वलीले जानकारी दिए ।