त्रिवेणी गाउँपालिकामा आफैले तयार गरेको पाठ्यपुस्तक

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले आफ्नै पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउन थालेको छ । दुई वर्षदेखि आफैं पाठ्यक्रम तयार गरी कक्षा १ देखि ३ सम्म पठनपाठन गराइरहेको गाउँपालिकाले यो वर्ष ४ र ५ कक्षाका विद्यार्थीका लागि पाठ्यपुस्तक तयार गरेको हो ।

पाठ्यपुस्तकमा संस्कार, स्थानीय तह, खेतीपाती, लेखापढी र मौलिक संस्कृतिलगायत विषयवस्तु समावेश गरिएको छ । नेपालको संविधान र स्थानीय तह सञ्चालन ऐन–२०७४ अनुसार पाठ्यपुस्तक तयार पारिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए । उनले खेतीप्रति बालबालिकाको लगाव बढाउन पनि पाठ्यपुस्तक तयार गरिएको जानकारी दिए ।

स्थानीय तहको सामाजिक, आर्थिक र राजनितिक परिवेशलाई पनि पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाइ छ । आगामी वर्षदेखि ६ देखि ८ सम्म स्थानीय पाठ्यपुस्तकबाट पठाइ गर्ने गाउँपालिकाको तयारी छ । गाउँपालिकाले तयार गरेको पाठ्यपुस्तक १ सय पूर्णांकको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर रानाले पाठ्यपुस्तकमा शिक्षक र विद्यार्थीले रचना गरेका आलेख, कथा र कविता पनि राखिएको बताए । उनका अनुसार पालिकाका ४० वटै विद्यालयले स्थानीय पाठ्यपुस्तकबाट पढाइ सुरु गरेका छन् ।

अहिले १ हजार ८ सय विद्यार्थीले उक्त पाठ्यपुस्तक अध्ययन गरिरहेको उनले बताए । २२ लाख रुपैयाँ बजेटबाट पाठ्यपुस्तक तयार गरी प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस