
दाङ । लुम्बिनी प्रदेशमा नयाँ थप हुने साना तथा मझौला उद्योग एक सय रुपैयाँमा दर्ता हुने भएका छन् । प्रदेश सरकारको निर्णयअनुसार उद्योगमा लाग्ने दस्तुर छुट दिइएको हो । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा पनि निःशुल्क नयाँ उद्योग दर्ता गर्ने निर्णय गरेको थियो ।
प्रदेशका १२ वटै जिल्लामा नयाँ उद्योग थपिने साना तथा घरेलु उद्योगले यस प्रकारको सेवा पाउने लुम्बिनी प्रदेश उद्योग वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसीले जानकारी दिए । मन्त्रिपरिषद्ले निर्णय गरेपछि यसको कार्यान्वयन भएको उनको भनाइ छ ।
जिल्लामा पनि नयाँ थपिने साना तथा घरेलु उद्योगलाई निःशुल्क दर्ता गर्ने गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएपछि निर्देशनालयको निर्देशन अनुसार निःशुल्क दर्ता गरिएको हो ।
निःशुल्क उद्योग दर्ता गर्न पाउने भएपछि उद्यमी बन्न चाहनेहरुलाई सहयोग पुग्ने उनको भनाइ छ ।