तुलसीपुरमा घरपरिवार सुचीकरण गर्न ४३ जना सुपरिवेक्षक

तुलसीपुर । राष्ट्रिय जनगणना २०७८ का लागि घरपरिवार सूचीकरणको काम सुरु भएको छ । बुधबार देखि १२ औँ राष्ट्रिय जनगणनाका लागि देशभर घरपरिवार सुचीकरणको काम सुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका तथ्यांक अधिकृत एवं स्थानीय जनगणना अधिकृत बाबुराम न्यौपानेका अनुसार जनगणनाको स्थलगत सर्वेक्षणका चरणमध्ये पहिलो चरण घरपरिवार सूचीकरण रहेको छ ।

जनगणनाको पहिलो चरण अन्र्तगत सुचीकणरको लागि असोज १८ गतेसम्म सुपरीवेक्षकले सुचीकरणको फाराम भर्नेछन् ।

उक्त फाराममा २० वटा सुचकहरु रहेका छन् । सुचकमा रहेर सुपरिवेक्षकहरुले वडास्तरका सम्पूर्ण जनसांख्यिक, आर्थिक, सामाजिक, लैंगिक लगायतका विभिन्न तथ्यांकहरु संकलन गर्ने जनगणना अधिकृत न्यौपानेले जानकारी दिए ।

देशभर ८ हजार सुपरिवेक्षकले सुचीकरणको काम गर्ने छन् ।

त्यस्तै दोश्रो चरणको कार्यक्रम अन्तर्गतको मुख्य गणना आउँदो कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म सञ्चालन हुने छ । मुख्य गणनामा सुपरिवेक्षकले सुचिकरणमा संकलन गरेका विवरणका आधारमा गणकहरुले घर तथा घरपरिवारका व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा भेटेर विवरणहरु संकलन गर्नेछन् ।

यसका लागि देशभर ३९ हजार बढी गणकहरु खटाइने छ । भने तुलसीपुर उपमहानगरपालिकाका लागि १ सय ८० जना गणकहरु रहने जनगणना अधिकृत न्यौपानेले जानकारी दिए ।

जनगणनालाई प्रभावकारी बनाउनका लागि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा जनगणनाको कार्यालय समेत स्थापना गरिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस