संसद वलीद्वारा पूर्वमुख्यमन्त्री पोखरेलसहित चार जनाविरुद्ध उजुरी

बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले जिल्ला प्रहरी कार्यालय बुटवलमा मंगलबार पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित चार जनाविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् । पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्ध उजुरी दिएको बताएकी छन् ।

उनले वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको दावी गरेकी छन् ।

त्यस घटनामा उनले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध कारबाहीको माग गरेकी छिन् ।

आफूले माओवादी केन्द्र रोजे पनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवाहीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मुद्दा दर्ता गरेपछि आफूलाई असह्य भएको ओलीले बताइन् ।

‘मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन’ सांसद वलीले भनिन्, ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानुनी लडाईंमै उत्रिएँ ।’

वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले लुम्बिनी प्रदेश सभा वैठक लगातार अवरुद्ध गर्दै आएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले निवर्तमान मुख्यमन्त्री पोखरेलविरूद्ध मुद्दा परेको र उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको बताए । दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले भने दाङमा उजुरी आइनसकेको बताएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस