दाङका चार पालिकामा आजबाट विद्यालय संचालन

दाङ । कोरोनाका कारण ठप्प विद्यालय धमाधम संचालनमा आउन थालेका छन् । घोराही र तुलसीपुर दुई उपमहानगरसहित दाङका चार पालिकामा आजबाट भौतिक उपस्थितीमा विद्यालय संचालनमा आएका छन् । कोरोना संक्रमणदर कम हुँदै गएपछि चार स्थानीय तहले आजबाट भौतिक उपस्थितिमा विद्यालय संचालन गरेका हुन् ।

घोराहीमा स्कुल बस पनि संचालन आएका छन् भने तुलसीपुरमा स्कुल बस चलाउन नदिने निणर्यको सर्वत्र आलोचना भएको छ । स्कुल बस चलाउन नपाउने निणर्य तुलसीपुर उपमहानगरले तत्काल सच्याउने भएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेले आज तत्काल बैठक बसेर स्कुल बस संचालन गर्न दिने निणर्य गरिने बताउनुभयो ।

कोरोनाको जोखिम कम भएसंगै लामो समय ठप्प रहेका विद्यालय संचालन गर्न दिने उपमहानगरपालिकाले भदौ २२ गते निणर्य गरेको थियो । तर विद्यालयका बस संचालन गर्न नदिने गरी उपमहानगरपालिकाले निणर्य गरेपछि उक्त निणर्यको चौतर्फी आलोचना भएको छ ।

टाढाका विद्यार्थीलाई पढाईमा झनै समस्या उत्पन्न हुने र सार्वजनिक बसमा जोखिम बढी हुने भएकाले विद्यार्थी तथा अभिभावकले विद्यालय बस संचालन हुनुपर्ने माग राखेका छन् ।

यसैबिच जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि मागेको अनुमति स्वीकृत गरेको छ ।

जिल्लामा अहिलेसम्म दश स्थानीय तहमध्ये बबई, शान्तिनगर, राजपुर र बंगलाचुलीले यसअघि नै विद्यालय संचालन गरिसकेका छन् भने बाँकी स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरेका छन् ।

डिसीसीएमसीको आइतबार बसेको बैठकले स्मार्ट लकडाउनको कार्यविधिअन्तर्गत सोमबारबाट स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस