
दाङ । दाङमा आज र भोलि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिइने भएको छ । जिल्लामा कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई यहि आज र भोलि दुई दिन खोप दिन लागिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।
दुई दिनमा दाङका १० वटै स्थानिय तहबाट कक्षा १२ को नियमित र आंशिक परिक्षा दिने विद्यार्र्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा दिइने भएको हो ।
प्रमुख शाहीका अनुसार घोराहीमा ३ हजार आठ सय ४६ जनालाई, तुलसीपुरमा ३ हजार ३ सय ८९, लमहीमा ९ सय ९९ लाई खोप दिइने भएको छ । त्यसैगरी राप्ती गाउपालिकामा ७ सय ११, बबई गाउपालिकामा १ सय ९१, बंगलाचुली गाउपालिकामा ५२, दंगिशरण गाउपालिकामा ८७ जना विद्यार्थीलाई खोप दिइने लक्ष्य रहेको छ ।
त्यस्तै गढवा गाउपालिकामा ४ सय ५८, राजपुर गाउपालिकामा १ सय ३३ र शान्तीनगर गाउपालिकामा २ सय ९१ गरि जम्मा १० हजार १ सय ५७ जनालाई खोप दिने प्रमुख शाहीले जानकारी दिनुभयो ।
सम्बन्धित विद्यार्थीले आफ्नो कक्षा १२ को प्रवेश पत्रको साथमा आफ्नो पाएक पर्ने स्थानमा गएर पहिलो मात्राको खोप लगाउन सक्ने प्रमुख शाहीले जानकारी दिनुभयो । दाङका ७५ विद्यालयबाट ९ हजार ६ सय ५१ जना परीक्षार्थीले कक्षा १२ को परिक्षा दिने तयारी गरेका छन् ।