दाङ । दाङमा छुट्टाछुटै सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । शुक्रबार राती साढे ९ बजेतिर तुलसीपुरको बालपुरबाट अस्वारतर्फ जाँदै गरेको अन्टेष्ट ट्याक्टर पेट्रोलपम्प नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा परि तुलसीपुर-८ अस्वाराका ट्याक्टर चालक २१ वर्षका कृष्णबहादुर पुनको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका चालक पुनको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सहचाल सोहि ठाउँ निवासी २२ वर्षीय शेरबहादुर खड्का उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
यस्तै तुलसीपुर-घोराही सडक खण्ड अन्तगर्त तुलसीपुर-१७ पत्रेखोला नजिकै दुई वटा मोटरसाइकल र कार एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको बा १८ च ३३७९ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको रा ५ प ५३५२ नम्बर र रा ३ प ४२५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चार जना घाइते भएका हुन् ।
दु्र्घटनामा रा ५ प ५३५२ नम्बरको मोटरसाइकल चालक तुलसीपुर- १८ दुधरासका २३ वर्षिय हरिचन्द्र डाँगी, सोहि मोटरसाइकलमा पछाडी सवार २४ वर्षिय रिशम पन्थी, रा ३ प ४२५८ नम्बरका चालक २२ वर्षका सागर बस्नेत र सोहि ठाउँका २२ वर्षका पारस परियार गम्भिर घाइते भएका छन् ।
घाइते चारै जनाको तुलसीपुरमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । कार चालक तुलसीपुर-१८ का ३३ वर्षिय विशाल गुरुङलाई कारसहित इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।