सक्राममा टेलिफोन टावर सञ्चालनमा

२१ भदौ, संक्राम । तुलसीपुर उपमहानगरपालिका—१९ को सक्राममा निर्मित नेपाल टेलिकमले निर्माण गरेको ट्रान्समिशन टावर सोमबार उद्घाटन भएको छ । पूर्व सभामुख तथा संघीय सांसद कृष्ण बहादुर महराले सो टावरको औपचारिकरुपमा विधिवत् उद्घाटन गरेका हुन् ।

नवनिर्मित सो टावर गत शुक्रबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको थियो । टावर सञ्चालनमा आएसँगै यसले तुलसीपुर उपमहानगरपालिका—१९का विभिन्न दुर्गम क्षेत्रसम्म टेलिफोन सम्पर्क स्थापित गर्न सहयोग पुगेको छ ।

साथै यो टावर सञ्चालनपछि तुलसीपुर—१९ लगायत घोराही उपमहानगरपालिका—११का केही भू–भाग र तुलसीपुर—१८का बस्तीहरुमा समेत टेलिफोन सेवा सहज भएको छ । टावरको अभावका कारण यस अघि सक्रामबासीलाई टेलिफोन सेवामै समस्या थियो ।

स्थानीय राजनीतिक दलका नेता तथा माओवादी केन्द्र तुलसीपुर—१९का अध्यक्ष दलवहादुर महतको अध्यक्षतामा सम्पन्न टावर उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि महराले यो टावर सञ्चालनमा आएसँगै यस क्षेत्रमा टेलिफोन सम्पर्क स्थापित गर्न सहज भएको बताए ।

‘टेलिफोन सेटमा टावर नदेखाएर रुखमा चढेर समेत आफन्तसँग कुरागर्ने अवस्था थियो, तर अब यो अवस्थाको अन्त्य भएको छ’—महराले भने । अब चाँडै छिल्लीकोटमा पनि टेलिफोन यस्तै सुविधा सम्पन्न स्तरीय टावर सञ्चालनका लागि पहल गर्ने पनि महराको अभिव्यक्ति थियो । ‘म सञ्चारमन्त्री हुँदा हातहातमा मोवाइल, गाउँगाउँमा इन्टरनेट सेवाको उद्घोष गरेको थिएँ, अब तपाईहरुलाई टेलिफोन र इन्टरनेटको पहुँच सहज हुने छ’—महराले टावर उद्घाटन गर्दै भने ।

त्यसै अवसरमा बोल्दै सांसद महराले सक्राममा रहेको ऐतिहासीक पूर्वजनमुक्ती सेनाको व्यारेकलाई सरकारले क्रान्ति संग्रहालयका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो व्यारेकसँगै सक्राम क्षेत्रमा आफु धेरै पटक आइसकेकाले यो ऐतिहासिक व्यारेकलाई युद्धसँग जोडिएको पर्यटकीय क्षेत्रकारुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । ‘यो विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग पनि कुरा भैरहेको छ, लुम्बिनी प्रदेश सरकारले ल्याउन थालेको नयाँ बजेटमा यो व्यारेकलाई क्रान्ति संग्रहालयकारुपमा विकास गर्न पनि कार्यक्रम राखिने छ’—सांसद महराले भने ।

त्यसैगरी संघीय सरकारले पूर्णता पाउनेबित्तिकै पर्यटन मन्त्रीसँग यो विषयमा गुरुयोजना बनाएर अघि बढ्ने विषयमा छलफल गर्ने पनि उनले आश्वासन दिए ।

स्थानीय करुणा घर्तीको स्वागत मन्तव्यबाट भएको उद्घाटन कार्यक्रममा दल बहादुर महत, नेकपा समाजवादीका जिल्ला सदस्य डिल्ली पुन, तुलसीपुर उपमहानगरपालिका—१९ का वडा सदस्य केशर बहादुर पुन, वडा सदस्य जय बहादुर सुनार, वडा सदस्य देउकली विक लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण माओवादी केन्द्र तुलसीपुर—१९ का सचिव दुर्गा बहादुर विकले गरेका थिए । सक्राममा टेलिफोन टावर स्थापना र सञ्चालनका लागि नेपाल टेलिकम तुलसीपुरका प्रमुख हरी प्रसाद खनाल, तथा व्यारेक सुरक्षा समितिका हेरालु कौमती केसीले विशेष भुमिका निर्वाह गरेको भन्दै कार्यक्रममा धन्यवाद व्यक्त गरिएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस