जर्मनले बनायो साइबरबाट सुरक्षित एन्ड्रोइड स्मार्टफोन

२१ भदौ, काठमाडौं । एन्ड्रोइड स्मार्टफोनहरु आइफोनको तुलनामा साइबर सुरक्षाको दृष्टिकोणले कमजोर मानिन्छन् । किनभने एन्ड्रोइड स्मार्टफोनहरु सजिलैसँग ह्याक हुने र साइबर ठगीको सिकार हुने हुन्छन् ।

यस्तै जर्मनी एक सूचना प्रविधि सुरक्षा कम्पनीले हालै आफ्नो पहिलो स्मार्टफोन लञ्च गरेको छ जसलाई संसारकै सबैभन्दा सुरक्षित एन्ड्रोइड फोन भनिएको छ ।

नाइट्रोकी नामक आइटी सेक्योरिटी कम्पनीले स्मार्टफोन बजारमा आफ्नो पहिलो प्रडक्टको रुपमा उक्त फोन ल्याएको हो । स्मार्टफोनको नाम नाइट्रोफोन १ रहेको छ ।

कम्पनीका अनुसार यो फोनमा सेक्योरिटी, प्राइभेसी तथा सरल रुपमा प्रयोग गर्न सकिने सुविधासँगै आधुनिक हार्डवेयर राखिएको छ । यो फोन गुगलको उच्च गुणस्तरीय Pixel 4a तथा Graphene अपरेटिङ सिस्टममा आधारित छ तथापि यसमा प्राइभेट तथा सुरक्षित मोबाइल अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ ।

यसको अर्थ यो फोनले गुगल सर्भिसहरु सपोर्ट गर्दैन । यो फोनमा निकै सीमित मात्रामा एपहरु प्रि–इन्स्टल्ड गरिएको हुन्छ । तथापि आवश्यकता अनुसारका एपहरु फोनको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

डिभाइसको सुरक्षा बढाउनका लागि कम्पनीले यो स्मार्टफोनबाट माइक्रोफोन पनि हटाइदिएको छ । अर्थात् यो फोनमा कुरा गर्नका लागि प्रयोगकर्ताले इयरफोन जोड्नु पर्दछ ।

यसमा ५.८१ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ । फोनमा ६ जिबीको र्याम तथा १२८ जिबीको स्टोरेज रहेको छ । यसमा १२.२ मेगापिक्सेलको क्यामरा रहेको छ ।

यो फोनको सुरुआती मूल्य ६३० युरो राखिएको छ । तर यसको मूल्यमा विस्तारै गिरावट आउने बताइएको छ ।

एजेन्सी

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस