
२१ भदौ, कपिलवस्तु । शान्ति पुनस्थापना गृह कपिलवस्तुको आयोजनामा मानव बेचविखन तथा ओसारपोसार विरुद्ध किशोरीलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शिवराज नगरपालिका वडा १ का ४० जना महिला तथा किशोरीहरुलाई मानव बेचविखनमा नेपालको पछिल्लो अवस्था र मुख्य कारणहरुको विषयमा छलफल गरिएको हो । वडा नं. १ को सहयोगमा आयोजित उक्त कार्यक्रममा बोल्दै शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले महिला किशोरीहरु सचेत नहुदाँसम्म यस्ता घटनाहरु भइरहने बताइन् ।
रोजगार, पैसा, विवाहलगायतका प्रलोभनमा परि बाहिरी मुलकहरुमा लैजाने र त्यहाँ बन्धक शोषण गर्ने गरेको उनले बताइन् । नगरका किशोरीलाई पटक पटक उद्धार गरिएकोले अब यस्ता घटनाहरु दोहोराउन नहुने बताइन् । नगरले प्रत्येक वर्ष किशोरीहरुलाई विभिन्न सिपमुलक तालिमसँगै व्यावसायिक बनाउन अभिप्रेरित गरेको थारुले बताइन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले मानव बेचविखन न्यूनीकरण गर्न शान्ति पुनस्थापना गृहको योगदान रहेको भन्दै प्रशंसा गरे ।
मानव बेचविखन जस्तो अपराधमा संलग्नलाई कारवाही गर्न सरकार चुक्न नहुने उनले बताए । कृष्णनगर नाका हुँदै दलालहरुले मुख्यतः किशोरीहरुलाई विभिन्न प्रलोभनमा विदेश पुराई शोसण गर्ने गरेको बताए ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले किशोरी तथा महिला सचेत भएमा मानव बेचविखन स्वतः घटने बताए । समाजिक सञ्जालको दुरुपयोगका कारण पनि नेपाली महिलाहरु बेचिन पुगेको उनले बताए । पछिल्लो समय मानव बेचविखनसँगै किशोरहरुमा लागुऔषधको प्रयोग बढेको बताए ।
अभिभावकहरुले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । वडा अध्यक्ष जगत जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति पुनस्थापना गृहका क्षेत्रीय संयोजक भुमिराज भट्टराईले पछिल्लो मानव बेचविखनको अवस्था, बेचविखनको कारणलगायतको विषयमा प्रशिक्षण दिएका थिए ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शंकर आचार्यले कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण दिएका थिए ।