घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित ढिकपुर र ओखराका किसानका लागि कुनै समय खेतीपाती आकाशे पानीमा निर्भर थियो । पानी नपर्दा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता थियो । तर गाउँनजिकै कृत्रिम जलाशय निर्माण भएपछि यहाँका किसानको खेती गर्ने शैली नै फेरिएको छ । अहिले जलाशयको पानी प्रयोग गरेर किसानले हिउँद र बर्खा दुवै मौसममा खेती गर्दै आएका छन् । सिँचाइको सुविधा भएपछि तरकारी खेतीबाट आम्दानी बढेको छ भने घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउन पनि सहज भएको छ ।
जलाशयको पानीबाट ढिकपुर र ओखरागाउँका करिब १५३ घरधुरी लाभान्वित भएका छन् । जलाशयबाट करिब ६० बिघा जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा पाएपछि परम्परागत धान खेतीमा निर्भर किसान अहिले मौसमी तथा बेमौसमी तरकारी खेतीमा रमाउन थालेका छन् । काउली, बन्दा, बोडी, करेला, भिन्डी, काँक्रा, लौका, आलु, गोलभेँडा र खुर्सानीलगायतका तरकारी उत्पादन गरेर किसानले आम्दानी गर्दै आएका छन् ।
जलाशय समितिका कोषाध्यक्ष भीमबहादुर चौधरीका अनुसार पहिले खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो । सिँचाइको सुविधा भएपछि किसानले वर्षभरि खेती गर्न पाएका छन् । उहाँले भन्नुभयो, “पहिले पानी नपरे खेती गर्न पाइँदैनथ्यो । अहिले सिँचाइ सुविधा भएपछि तरकारी खेतीबाटै किसानको घरखर्च चल्न थालेको छ ।” जलाशयले सिँचाइसँगै माछापालनबाट पनि आम्दानीको बाटो खोलेको छ ।
गत वर्ष जलाशयमा हुर्काइएका माछा बिक्री गर्दा १८ लाख रुपियाँको कारोबार भएको थियो । खर्च कटाएर १६ लाख रुपियाँ बचत भएको चौधरीले बताउनुभयो । यस वर्ष पनि विभिन्न प्रजातिका ४५ हजार माछाका भुरा छाडिएको उहाँले जानकारी दिनुभयो ।
करिब चार बिघा क्षेत्रफलमा फैलिएको उक्त जलाशय घोराही उपमहानगरपालिकाले २०७५ सालमा निर्माण गरेको हो । सिँचाइका लागि निर्माण गरिएको जलाशय अहिले कृषि उत्पादन र माछापालनबाट स्थानीयको आम्दानी बढाउने आधार बनेको छ । स्थानीय किसान जगवीर चौधरीका अनुसार जलाशय निर्माण हुनुअघि यस क्षेत्रमा मुस्किलले दुई बाली मात्रै उत्पादन हुन्थ्यो । अहिले वर्षमा चार बालीसम्म उत्पादन गर्न सकिएको छ । उहाँले भन्नुभयो, “अहिले सिँचाइको कुनै समस्या छैन । कृषि गर्न चाहनेका लागि पानीको पर्याप्त सुविधा छ । यही जलाशयको पानी प्रयोग गरेर व्यावसायिक तरकारी खेती गरेका छौँ । यसैबाट बालबालिकाको पढाइखर्चदेखि घरखर्चसमेत चलाउँदै आएका छौँ ।”
जलाशय निर्माणपछि ढिकपुर र ओखराका किसानले खेतीपातीमा नयाँ सम्भावना पाएका छन् । सिँचाइको अभावमा सीमित खेती गर्दै आएका किसान अहिले वर्षमा चार बालीसम्म उत्पादन गर्न सक्ने भएका छन् । तरकारी खेती र माछापालन दुवैबाट आम्दानी हुन थालेपछि स्थानीयको आर्थिक अवस्थामा समेत सुधार आएको छ । गाेरखापत्रबाट


