२२ करोड बराबरको सेतो हेराइनसहित एक व्यक्ति पक्राउ

काठमाडौं । २२ करोड रुपैयाँ बराबरको कोकिनसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।

हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुनसक्ने भन्दै संकित व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेको प्रहरीले बताएको छ । २८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं आएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

उनी यसअघि लाओसबाट २ पटक नेपाल आएको पाइएको छ । पहिलो पटक हवाईमार्गबाट नेपाल आएका उनी दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको एसपी रेग्मीले बताए ।

उनले लाओससँगै जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम, कम्बोडियाको समेत भ्रमण गरिसकेका छन् । उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ ।

उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद भएको छ । उनीबाट बरामद भएको सेतो हेराइन साढे पाँच किलोको बजार मूल्य २२ करोड प्रहरीले बताएको छ । बरामद हेरोइनको गन्तव्य भारत रहेको प्रहरी अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : २०८३ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस