बत्तीमुनिको अँध्यारोः खुमखानीको यात्रा

विजय जिएम/ यात्रा जीवनको एक महत्वपूर्ण अनुभव हो । यात्राले मानिसलाई नयाँ ठाउँ, नयाँ परिवेश, स्थानीय संस्कृति तथा प्रकृतिसँग नजिकबाट परिचित गर्दछ । यसले ज्ञान, अनुभव र जीवनप्रतिको दृष्टिकोणलाई समेत फराकिलो बनाउँछ । नेपालीहरूको महान् पर्व दशैँको बिदालाई सदुपयोग गर्ने उद्देश्यले गाउँघरका साथीभाइसँग सरसल्लाह गरी स्थानीय स्तरमा छोटो पैदल यात्रा गर्ने योजना बनायौँ । हाम्रो यात्राको गन्तव्य तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा अवस्थित रमणीय गाउँ खुमखानी थियो । नयाँ ठाउँको अवलोकन गर्ने, प्राकृतिक सौन्दर्यमा रमाउने र स्थानीय जनजीवनलाई नजिकबाट बुझ्ने उत्साहका साथ हामी यात्राको तयारीमा जुट्यौँ ।

बिहानको ७ः३० बजे हामी करिब १२ जनाको समूह मानपुरबाट बाइकमा खुमखानीतर्फको यात्रामा निस्कियौँ । हामी बिजौरी, बाँसगढी, कुटीचौर हुँदै सिरचौर पुग्यौं । सिरचौरमा बाइक पार्किङ गरे पश्चात झोलुङ्गे पुर पार गरेर मुख्य गन्तब्य खुमखानीको यात्रामा प्रस्थान गर्यौं । यात्राको सुरुवातसँगै मनमा उत्साह, अनुहारमा मुस्कान र हृदयमा नयाँ ठाउँ हेर्ने कौतूहल थियो । उकाली–ओराली बाटो, घुमाउरा गोरेटाहरू र हरियालीले भरिएको प्राकृतिक परिवेश पार गर्दै हामी आफ्नो गन्तव्यतर्फ अघि बढ्यौँ । यात्रालाई थप रमाइलो बनाउन हाम्रो समूहमा गीत, सङ्गीत र नाचगानको विशेष माहोल थियो । प्रकाश र भुपाल वाद्यवादनमा रमाइरहेका थिए भने रोशन र दीपकका गीतले यात्रालाई सङ्गीतमय बनाइरहेका थिए । विजय, ज्ञानेन्द्र, विष्णु, दीपक र चेतन नाचगानमा उत्साहपूर्वक सहभागी भइरहेका थिए । श्री आफ्नो क्यामरामा यात्राका रमाइला क्षण, प्राकृतिक दृश्य र साथीहरूको उमङ्ग कैद गरिरहेका थिए । कसैले गीत गाउने, कसैले ताल मिलाउने त कसैले नाचेर मनोरञ्जन थप्दै गर्दा बाटोको कठिनाइ पनि सहज लागिरहेको थियो । आपसी आत्मीयता, हाँसो र ठट्टाले यात्रालाई अविस्मरणीय बन्दै थियो ।

हामी बिस्तारै हिड्दै र थकान मार्दै अनि गीत, सङ्गीत र नाचगानका साथ करिब साढे तीन घण्टाको यात्रा पूरा गरेपछि हामी खुमखानीको तल्लो गाउँ हुँदै झारगाउँ पुग्यौँ । समुद्री सतहबाट करिब १,२५० मिटर उचाइमा रहेको खुमखानीको भौगोलिक अवस्था र प्राकृतिक वातावरणले हामीलाई आकर्षित गर्यो । यहाँको चिसो हावा, शान्त वातावरण, हरियाली र वरिपरिका डाँडाकाँडाले मनलाई आनन्दित बनायो । शहरको कोलाहल र व्यस्त जीवनबाट टाढा रहेको यो बस्ती प्रकृतिको काखमा बसेको एउटा सुन्दर संसारजस्तै लाग्थ्यो । केही समय त्यहाँ बिताउँदा मनमा शान्ति र शरीरमा नयाँ ऊर्जा सञ्चार भएको अनुभूति भयो ।

झारगाउँमा पुगेर हामीले खाना खायौँ । खानाको व्यवस्थापन गोविन्द जीले गर्नुभएको थियो । यात्राको थकानपछि साथीहरूसँग बसेर खाना खानुको आनन्द बेग्लै थियो । खानापछि हाम्रो ध्यान खुमखानीको उपल्लो गाउँको शिरमा रहेको एउटा एकल रुखतर्फ केन्द्रित भयो । वरिपरिको प्राकृतिक दृश्यबीच एक्लै उभिएको त्यो रुख यस क्षेत्रको प्रमुख आकर्षणका रूपमा देखिन्थ्यो । त्यसलाई नजिकबाट हेर्ने र त्यहाँबाट वरिपरिको दृश्य नियाल्ने हाम्रो इच्छा थियो । हामी गाउँको शिरतर्फ अर्थात खुमखानीको उपल्लो गाउँ लाग्यौँ । रुखको नजिक पुग्दा चिसो हावाले स्वागत गरेझैँ लाग्यो । हामीले त्यसको दृश्यावलोकन गर्यौँ, तस्बिर खिच्यौँ, स्थानीयसँग नाचगान गर्यौ र केही समय प्रकृतिसँग रमायौँ ।

उपल्लो गाउँको शिरमा उभिएको त्यो एकल रुख सामान्य रुख मात्र थिएन; मानौँ त्यो सम्पूर्ण गाउँको पहिचान र प्राकृतिक सौन्दर्यको प्रतीक थियो । त्यसको उपस्थितिले वरिपरिको भूगोललाई विशिष्ट बनाएको थियो । प्रकृतिले निःशुल्क दिएको यस्तो अनुपम सम्पदालाई व्यवस्थित रूपमा संरक्षण र प्रचार गर्न सके खुमखानीको पहिचान अझ फराकिलो बनाउन सकिन्छ । उचित संरक्षण, पदमार्ग र आवश्यक पूर्वाधारको विकास गर्न सके यस क्षेत्रलाई आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने सम्भावना देखिन्छ । त्यहाँबाट दाङ उपत्यकाको सुन्दर दृश्य देख्न सकिने कुरा यस क्षेत्रको अर्को विशेषता हो । उचाइमा अवस्थित भएकाले वरिपरिका डाँडाकाँडा र तल फैलिएको उपत्यकाको दृश्यले मन लोभ्याउँछ ।

प्रकृतिले गाउँलाई सुन्दर बनाएको छ तर दाङ उपत्यकाको नजिकै भएर पनि सडक पहुँचको अभाव, खानेपानीको समस्या र न्यून जनचहलपहलले गाउँको विकासलाई चुनौती दिएको अनुभूति भयो । प्राकृतिक सम्पदाले भरिपूर्ण ठाउँमा आधारभूत सुविधाको कमी हुनु वास्तवमै सोचनीय विषय हो । प्रकृतिको अनुपम सुन्दरताबीच केही दृश्यले मनलाई गम्भीर पनि बनायो । एकातिर प्रकृतिले गाउँलाई सुन्दर बनाएको थियो भने अर्कोतिर सडक पहुँचको अभावले विकासको गति सुस्त भएको अनुभूति हुन्थ्यो । उकाली–ओराली बाटो हुँदै यात्रा गर्दा गाउँसम्म सहज यातायातको व्यवस्था कति आवश्यक रहेछ भन्ने कुरा स्पष्ट भयो । सडक पहुँच केवल सवारीसाधन चलाउने सुविधा मात्र होइन; यो शिक्षा, स्वास्थ्य, व्यापार, कृषि, रोजगारी र समग्र सामाजिक रूपान्तरणसँग जोडिएको आधारभूत आवश्यकता हो । सडकको सहज पहुँच नहुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन, किसानले उत्पादन बजारसम्म लैजान र विद्यार्थीले शैक्षिक अवसर प्राप्त गर्न कठिनाइ हुन सक्छ ।

गाउँमा एउटा प्राथमिक तहको विद्यालय रहेको जानकारीले शिक्षाको अवस्थाबारे चासो जगायो । विद्यालय हुनु सकारात्मक पक्ष हो तर विद्यार्थीको संख्या न्यून हुनु चिन्ताको विषय हो । विद्यार्थी कम हुनुका कारण बुझ्न आवश्यक छ । बसाइँसराइ, घट्दो जनसंख्या वा अन्य सामाजिक तथा आर्थिक कारणले विद्यालय प्रभावित भएको हुन सक्छ । दलित तथा जनजाति समुदायको बसोबास रहेको यस बस्तीमा विविध सामाजिक र सांस्कृतिक पहिचानको प्रतिनिधित्व देख्न सकिन्छ ।

सुन्दर बस्तीमा मानिसहरूको उपस्थिति अपेक्षाकृत कम देखिँदा मनमा अर्को प्रश्न उठ्यो । प्रकृतिले यति धेरै सम्भावना दिएको गाउँ किन मानवरहितजस्तो देखिन्छ ? बसाइँसराइ, रोजगारीको खोजी, शिक्षा तथा स्वास्थ्य सेवाको अभाव र पूर्वाधारका कठिनाइले ग्रामीण बस्तीको जनजीवन प्रभावित भएको हुन सक्छ । गाउँमा मानिसको चहलपहल घट्दै जानु केवल जनसङ्ख्याको परिवर्तन होइन; यो गाउँको सामाजिक सम्बन्ध, परम्परा, श्रमशक्ति र भविष्यसँग जोडिएको विषय हो । गाउँलाई जीवन्त राख्न स्थानीय स्तरमै सम्भावनाको खोजी र अवसरको सिर्जना आवश्यक छ ।

खुमखानीमा खानेपानीको अभावले पनि हामीलाई सोच्न बाध्य बनायो । अझ विडम्बनापूर्ण कुरा, खाद्रे निवासी भुपु ब्रिटिस लाहुर स्व. याम बहादुर रानाको पहलमा ब्रिटिस सरकारको सहयोगमा निर्माण गरिएका खानेपानीका धाराहरू मोटर बिग्रिएका कारण बन्द रहेको जानकारी पाइयो । पानीजस्तो आधारभूत आवश्यकताको व्यवस्था हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण नागरिकले त्यसको उपयोग गर्न नपाउनु दुःखद अवस्था हो । पूर्वाधार निर्माण गर्नु जति महत्वपूर्ण छ, त्यसको नियमित मर्मतसम्भार र दिगो सञ्चालन सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ । बिग्रिएको मोटर मर्मत गरी खानेपानी आपूर्ति पुनः सञ्चालन गर्न स्थानीय सरकार, उपभोक्ता समिति र सम्बन्धित निकायबीच समन्वय हुनु जरुरी देखिन्छ ।

खुमखानीजस्तो प्राकृतिक सम्भावना बोकेको बस्तीले विकासप्रेमी नेतृत्वको प्रतीक्षा गरिरहेको अनुभूति भयो । खुमखानी स्थानीय आवश्यकता बुझ्ने, जनताको आवाज सुन्ने र दीर्घकालीन योजना कार्यान्वयन गर्ने नेतृत्व आजको आवश्यकता हो । विकास भनेको भाषण र आश्वासनमा सीमित हुने विषय होइन; नागरिकको जीवनमा देखिने सकारात्मक परिवर्तन हो । व्यवस्थित सडक, सुरक्षित खानेपानी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र रोजगारीका अवसरले मात्र गाउँको वास्तविक विकासलाई सार्थक बनाउन सक्छन् ।

यात्राले हामीलाई मनोरञ्जन मात्र दिएन; गाउँको वास्तविकता बुझ्ने अवसर पनि प्रदान गर्यो । प्रकृतिको उपहारले सम्पन्न खुमखानीमा विकासका आधारभूत आवश्यकता पूरा हुन सकेमा पर्यटन, स्थानीय उत्पादन र सामुदायिक उद्यमका सम्भावना खुल्न सक्छन् । टिमुर र अदुवा खेती तथा पशुपालनको प्रचुर सम्भावना बोकेको खुमखानीमा सडक, खानेपानी र अन्य आवश्यक पूर्वाधारको विकाससँगै स्थानीय संस्कृति तथा प्राकृतिक सम्पदाको संरक्षण गर्न सकियो भने यो बस्तीले नयाँ पहिचान बनाउन सक्छ । प्रिय, खुमखानी ! साँच्चै बत्तीमुनिको अँध्यारोमा छ । वर्षौदेखि उज्यालोको पर्खाइमा छ ।

अन्ततः खुमखानीको यात्रा हाम्रो मनमा मिठा सम्झना र गम्भीर प्रश्न दुवै छोडेर गयो । खुमखानीको उपल्लो गाउँको शिरमा उभिएको एकल रुखले प्रकृतिको सुन्दरता र दृढताको सन्देश दिइरहँदा गाउँले भने विकास, सुविधा र अवसरको प्रतीक्षा गरिरहेको अनुभूति भयो । खुमखानी केवल घुम्न जाने सुन्दर ठाउँ मात्र नबनोस् सम्मानजनक जीवन, समान अवसर र दिगो विकासको उदाहरण बनोस् भन्ने कामना र आशा बोकेर हामीले त्यस दिनको यात्रालाई अविस्मरणीय बनायौँ ।

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस