विजय जिएम/ दशैँ नेपालीहरूको ठुलो र महत्वपुर्ण धार्मिक तथा सांस्कृतिक पर्वहरुमध्ये एक हो । । दशैंको माहोल छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको टिकटक, फेसबुक, रिल र स्टोरीहरुमा नेपाली चलचित्र मुग्लानको सदाबहार तथा चर्चित गीत ‘दशैं आयो’ भाइरल भएको छ । बजारमा भिडभाड बढेको छ । परदेशीहरु घरदेश आउने क्रम जारी छ । गाउँघर रमाइलो छ । बजारमा नयाँ कपडा र सरसामान किनबेच गर्ने मानिसहरुको चहलपहल देखिन्छ । घरहरू रंगरोगन र सजावत गरेको देखिन्छ । घर घरमा विभिन्न परिकारको रोटीहरु बनाईरहेको दृश्य देख्न सकिन्छ । दशैँ पर्व केवल टीका, जमरा, आर्शीवाद, नयाँ लुगा र मीठो परिकार खाने पर्व मात्र होइन, यो त परिवार, आफन्त, इष्टमित्र र साथीभाइसँग भेटघाट गर्ने, दुःख बिर्सेर सुख साटासाट गर्ने र पुराना सम्झनाहरूलाई फेरि ताजा बनाउने एउटा अवसर पनि हो । तर मेरो बाल्यकालको दशैँ आजको जस्तो थिएन । त्यो समय अभावले भरिएको थियो तर मनमा असीम खुसी र कौतुहलता थियो । जीवनमा धेरै कुरा थिएनन् तर थोरै कुरामै रमाउन सक्ने मन थियो । मेरा लागि बाल्यकालको दशैँ जीवनकै सबैभन्दा मीठा र अविस्मरणीय सम्झनाहरुमध्ये एक हो ।
दशैँ भन्नासाथ मेरो मन रुकुमको लुगुमतिर फर्किन्छ । पहाडको काखमा रहेको त्यो गाउँ, वरिपरिका हरिया डाँडाकाँडा, उकाली–ओराली, चिसो हावा, गाउँले जीवन र प्रकृतिसँगको निकटताले मेरो बाल्यकाललाई विशेष बनाएको थियो । दशैँको प्रतीक्षामा बितेका बाल्यकालका ती अविस्मरणीय क्षणहरू नाच्न थाल्छन् । आज जीवनमा धेरै परिवर्तन आएको छ । समय फेरिएको छ, परिस्थिति फेरिएको छ र दशैँ मनाउने शैली पनि फेरिएको छ । तर बाल्यकालमा दशैँसँग जोडिएका ती सम्झनाहरू भने आज पनि मेरो मनको कुनामा उत्तिकै ताजा छन् ।
मेरो बाल्यकाल रुकुमको लुगुममा बित्यो । पहाडको काखमा रहेको हाम्रो गाउँको जीवन अहिलेको जस्तो सहज र सुविधासम्पन्न थिएन । गाउँमा अभाव थियो, दुःख थियो तर त्यही जीवनभित्र आफ्नै किसिमको खुसी पनि थियो । जीवन सामान्य थियो । आटो, आलु र सिस्नो जस्ता खानेकुराले दैनिक जीवन चल्थ्यो । आजका बालबालिकाले विभिन्न परिकार रोजेर खान पाउँछन् तर हाम्रो बाल्यकालमा पेटभरि खान पाउनु नै ठूलो कुरा हुन्थ्यो । अहिले सम्झँदा लाग्छ, त्यो समय जीवनको अभावपूर्ण समय थियो तर मनमा सन्तोष थियो ।
दशैँ हाम्रो घरआँगनमा खुसी बनेर आउँथ्यो । वर्षभरि आटो र सिस्नो खाएर दिन बिताउने हामीलाई दशैँमा मासु–भात खान पाइन्छ भन्ने कल्पनाले मात्र पनि मन फुरुङ्ग हुन्थ्यो । आजको पुस्ताका लागि मासु–भात सामान्य भोजन होला तर हाम्रो बाल्यकालमा त्यो विशेष अवसरको परिकार थियो । वर्षमा एकपटक दशैँमा मासु–भात खान पाउनु हाम्रा लागि ठूलो उत्सवजस्तै थियो । दशैँ नजिकिँदै गर्दा मनमा छुट्टै उत्साह जाग्थ्यो । दशैँ कहिले आउला, कहिले मीठो खाना खान पाइएला भन्ने प्रतीक्षाले दिनहरू बित्थे ।
तर के दशैँको खुसी मासु–भातमा मात्र सीमित थियो त ? पक्कै पनि थिएन । मेरो बाल्यकालको दशैँमा मासु–भातको खुसीभन्दा पनि ठूलो प्रतीक्षा अर्को थियो—परिवारका सदस्यहरू घर फर्किने प्रतीक्षा । बुबा भारतीय सेनामा हुनुहुन्थ्यो । उहाँ आफ्नो कर्तव्य पूरा गर्न घरबाट टाढा रहनुहुन्थ्यो । उहाँ दशैँमा घर आउनुहुन्छ भन्ने आशा हाम्रो मनमा सधैँ रहन्थ्यो । हामी घर अगाडीको तोड्के पहाडको बाटोतिर हेरेर उहाँको प्रतीक्षा गथ्र्यौँ । मनमा एउटै प्रश्न खेलिरहन्थ्यो—आज आउनुहुन्छ कि ? आज आउनुभएन भने भोलि आउनुहोला कि ? त्यो तोड्के पहाडको बाटो हाम्रो लागि केवल हिँड्ने बाटो थिएन; त्यो त आशाको बाटो थियो, प्रतीक्षाको बाटो थियो र बुबासँग भेट हुने सपनाको बाटो थियो । बाटोमा कोही मानिस देखियो कि मनमा झट्टै लाग्थ्यो—कतै बुबा त आउनुभएको होइन ? टाढाबाट आउने मानिसलाई हेर्दै मनले बुबाकै आकृति खोज्थ्यो । दिन बित्थे, प्रतीक्षा लम्बिन्थ्यो तर आशा मर्दैनथ्यो । आज आउनुहुन्छ, भोलि आउनुहुन्छ भन्ने विश्वासमा हामी दिन गन्दै बस्थ्यौँ । बालमनले समयको मूल्य घडीमा होइन, बुबा घर फर्किने प्रतीक्षामा नाप्थ्यो । अहिले सम्झँदा एउटा कुरा झन् गहिरोसँग महसुस हुन्छ—त्यतिबेला हामीसँग फोन थिएन, इन्टरनेट थिएन, तत्काल खबर पाउने कुनै सुविधा थिएन । अहिले जस्तो एकैछिनमा फोन गरेर को कहाँ छ, कहिले आउँछ भनेर थाहा पाउन सकिने अवस्था थिएन । न मोबाइलमा सन्देश आउँथ्यो, न यात्राको जानकारी लिन सकिन्थ्यो । बुबा कहिले घर आइपुग्नुहुन्छ भन्ने कुरा अनुमान र आशामै सीमित हुन्थ्यो ।
दशैँ नजिकिँदै गर्दा हाम्रो घरमा एउटा छुट्टै उत्साह सुरु हुन्थ्यो । बाजेबजै, फुपु र गाउँका अन्य सेवा निवृत्त लाहुरेहरू पेन्सन बुझ्न घोराहीको चौघेरा जाने तयारी गर्नुहुन्थ्यो । त्यतिबेला अहिलेको जस्तो यातायातको सहज सुविधा थिएन । रुकुमको लुगुमबाट घोराहीको चौघेरासम्म पेन्सन बुझ्न जानु भनेको सामान्य यात्रा थिएन । बाजेबजै, फुपु र गाउँका अन्य निवृत्त लाहुरेहरू तीन–चार दिन पैदल हिँडेर घोराहीको चौघेरा पुग्नुहुन्थ्यो । उकाली–ओराली, पहाडी बाटा र लामो यात्राको थकान सहँदै पेन्सन बुझ्न जाने उहाँहरूको यात्रा आज सम्झँदा निकै कठिन र सङ्घर्षपूर्ण लाग्छ । हाम्रो बालमनमा भने त्यो यात्राको अर्को अर्थ हुन्थ्यो । दशैँ नजिकिँदै गर्दा बाजेबजै र फुपु घोराहीबाट फर्किने दिनको प्रतीक्षा सुरु हुन्थ्यो । उहाँहरू फर्किंदा चामल, मिठाई, बिस्कुटलगायतका खानेकुरा लिएर आउनुहुन्थ्यो । आज बजारमा सजिलै पाइने मिठाई र बिस्कुट त्यतिबेला हाम्रा लागि विशेष उपहारजस्तै थिए । बाजेबजै घर फर्किने खबरले नै मनमा खुसी छाउँथ्यो । उहाँहरूले ल्याउनुभएका खानेकुरा पाउने आशाले बालमन झन् उत्साहित हुन्थ्यो ।
समय बित्दै गयो । बाल्यकालका दिनहरू क्रमशः पछाडि छुट्दै गए । जीवनका जिम्मेवारीहरू थपिँदै गए । रुकुमको लुगुमबाट बसाई सरेर दाङ झ¥यौं । ठाउँ परिवर्तन भयो, जीवनशैली परिवर्तन भयो र खानपानमा पनि ठूलो परिवर्तन आयो । विद्यालयमा शिक्षक साथीहरूसँग दशैँलगायत अन्य चाडपर्वका बारेमा कुराकानी हुँदा म प्रायः आफ्ना बाल्यकालका अनुभव सुनाउने गर्छु । म भन्ने गर्छु, “हामी रुकुमको लुगुममा हुँदा वर्षमा एकपटक दशैँमा मात्र मासु–भात खान पाइन्थ्यो । दशैँ आउनुअघि नै मनमा छुट्टै खुसी र उत्साह जाग्थ्यो । तर पहिले वर्षमा एकपटक दशैँमा मात्र विशेष मानिने मासु–भात अहिले सामान्य जीवनको हिस्सा बन्यो । पहिले दशैँको प्रतीक्षामा बित्ने दिनहरू अहिले सामान्य दिनजस्तै लाग्न थाले ।
दशैँ आउँछ, जान्छ; समय बित्छ, उमेर बढ्छ र जिम्मेवारी थपिन्छन् । आज पनि दशैँ आउँदा मेरो मन रुकुमको लुगुम पुग्छ । तोड्के पहाडको त्यो बाटो सम्झिन्छु, जहाँ आँखा बिछ्याएर बुबाको प्रतीक्षा गरिन्थ्यो । घोराहीको चौघेरा पेन्सन बुझ्न तीन–चार दिन पैदल हिँडेर गएका बाजेबजै, फुपु र गाउँका अन्य निवृत्त लाहुरेहरू सम्झिन्छु । फर्किंदा उहाँहरूले ल्याउने चामल, मिठाई र बिस्कुट सम्झिन्छु । ती खानेकुरासँगै घरमा भित्रिने खुसी सम्झिन्छु । अनि बाजेबजै घर फर्किएपछि अब बुबा पनि आउनुहुन्छ कि भनेर मनमा पलाउने आशा सम्झिन्छु ।
मेरो लागि दशैँ आज पनि केवल एउटा धार्मिक तथा सांस्कृतिक पर्व होइन । यो मेरो बाल्यकालको ऐना हो, मेरो गाउँको सम्झना हा । दशैँले मलाई सम्झाउँछ—जीवनमा धेरै कुरा सहज हुँदै जाँदा पनि विगतका साना खुसीहरूको मूल्य बिर्सनु हुँदैन ।


